काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले १२६ जना करदातालाई १५ दिनभित्र साढे १२ करोड बक्यौता कर दाखिला गर्न निर्देशन दिएको छ ।
आज एक सुचना प्रकाशन गर्दै राजस्व कार्यालय धनगढीको अनुसार अस्पताल, उद्योग, निर्माण कम्पनी लगायत १२६ करदाताले १२ करोड ४८ लाख ९४ हजार २८५ रुपैयाँ बक्यौता कर दाखिला गर्न बाँकी रहेको छ । जसमध्ये ११८ करदाताले मूल्य अभिवृद्धि कर र बाँकी ८ कम्पनीले आयकर तिर्न बाँकी रहेको छ ।

करदाताहरुलाई कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क संकलन भ्रमण, एसएमएस तथा पत्राचार गरी जानकारी गराएकोमा हालसम्म पनि कर बक्यौता दाखिला नगरेको तथा कतिपय करदाताहरुलाई हुलाकमार्फत जानकारी गराउँदा पनि कर नतिरेको कार्यालयले जनाएको छ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र बक्यौता कर गर्न भनेको छ । सो अवधिमा पनि कर फरफारक नभएमा आय कर तथा अग्रीम कर बक्यौताको हकमा आय कर ऐन २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको कर असुल उपर गर्न आग्रह गरेको छ ।

































