काठमाडौँ । साताको पहिलो कारोबारका दिन बजारमा गिरावट आएको छ । बजारमा गिरावट आएसँगै कारोबार रकम समेत खुम्चिँदै गएको छ । बजारमा आएको निरन्तरको गिरावटको कारण आम लगानीकर्तामा निराशा पैदा भएको छ ।
सरकार परिवर्तनको हो हल्ला र नयाँ स्टकको आवश्यकताबारे चर्चा बाहेक शेयर बजारलाई प्रभाव पार्ने अन्य विशेष कारण देखिँदैन, शेयर बजारको बढोत्तरीको बाधक मानिने बैङ्कहरूको ब्याज दरहरू समेत घट्दै गए पनि त्यसको प्रभाव बजारमा देख्न सकिँदैन सकिदैन्।
मुख्य कुरा त बजारका लागि चाहिने लगानीकर्ताको उच्च मनोबल हो । तर हालको बजारले उच्च मनोबल हैन लगानीकर्ताको सामान्य मनोबल समेत उठाउन नसकेको अवस्था छ । एकातिर भने अर्कोतिर लामो समयसम्म अध्यक्षविहीन भएको धितो पत्र बोर्डमा अध्यक्ष आएको महिना दिन बितिसक्दा सम्म पनि नवनियुक्त अध्यक्षले लगानीकर्ताको मनोबल बढाउने किसिमका कुनै पनि गतिविधि गर्न नसकेको अवस्था छ ।
अभिवावकीय भूमिका निर्वाह गरिरहेका निकायहरू नै अहिलेसम्म यस्ता खालका कामहरू केही नहुन समग्र पुँजी बजारका निमिक्त दुखद खबर हो। हाल कुनै पनि पुँजी बजार केन्द्रित गतिविधि नवनियुक्त अध्यक्षले नगरेकै कारण पनि बजारमा यस्तो खालको उतारचढाव देखिएको हो ।
लामो समयसम्म अध्यक्षविहीन भएका कारण धितो पत्र बोर्डमा पनि धेरै कामहरू भए पनि नवनियुक्त अध्यक्षले लगानीकर्ताहरूको मनोबल बढाउनका लागि आफू सधैँ तत्पर रहेको सन्देश मात्रै पनि लगानीकर्ताहरूलाई दिन सकेको भए बजार मा धेरै सुधार आइसक्ने थियो । बैङ्कको ब्याजदर घटेको छ। अध्यक्षसँग पनि जादुको छडी त छैन । तर धेरै कुरा गर्न नसके पनि लगानीकर्ताहरूमा एक प्रकारको कन्फिडेन्स ल्याउने खालका सन्देश त प्रवाह गर्न सकिन्थ्यो नि ।
बोर्ड अध्यक्षले करिब ६४ लाख बढी लगानीकर्तालाई म छु है भन्ने विश्वास दिलाउन सक्नुपर्थ्यो। यस्तै लगानीकर्ताहरूले पनि आफ्नो अभिभावक नै नभएको जस्तो ठानेको र बेलाबेलामा आइरहने सरकार परिवर्तनका हल्लाले गर्दा पनि अहिले बजार बढ्न नसकेको आकलन गर्न सकिन्छ ।
सेबोनको अध्यक्षले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि त्यसको विश्वास वा आशा लगानीकर्तामा कायम गर्न नसकेकै कारण बजारले गति लिन नसकेको अवस्था छ । शेयर बजारको लागी आवश्यक पर्ने सबै आधार समेत राम्रो छँदाछँदै पनि बजारले लय समाउन नसक्नुलाई आश्चर्य मान्नुपर्ने अवस्था खडा भएको छ । त्यसका साथै, आम लगानीकर्तामा समेत बजारप्रति धैर्यता नभएको कारण समेत बजारले लय समाउन नसकेको देखिएको छ।
सामान्य मात्रामा बजार बढ्दा नाफा बुक गर्नेको संख्या ह्वात्तै बढ्ने र घट्न थाल्दा बित्तिकै बेच्न सुरु गरी हाल्ने परिपाटीले बजारलाई लामो समयसम्म एउटा लयमा लैजान सक्दैन । तथापि लगानीकर्ताले अझै पनि धैर्यता नगुमाई सुझबुझका साथ लगानी गर्नुको अर्को विकल्प छैन ।
दोष नवनियुक्त बोर्ड अध्यक्षलाई मात्रै दिने ठाउँ छैन । लामो समयपछि नियुक्त भएका अध्यक्षको पनि पहिले देखिकै कामको लाइन बाकी नै छ । तर हामी लगानीकर्ताहरूले आफ्नो सुझबुझका साथ काम गर्नुको साटो हतारको भरमा दौडिएका छौ । अहिले बैङ्कहरूमा पैसाको कमी पनि छैन । लगानीको सुरक्षित क्षेत्र नै शेयर बजार नै हो त्यसकारणपनि आम लगानीकर्ताले धैर्यता राख्नका लागि म आग्रह गर्दछु ।
































