काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०८ प्रतिशत बढी हो।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा बढेर २६ रुपैयाँ ७२ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.६५ गुणा रहेको छ।
इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.९४ प्रतिशत र कुल आम्दानी ४४.१४ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५६.६० प्रतिशत बढेको छ भने कुल खर्च ३७.४४ प्रतिशत बढेको छ।
२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ति कोषमा ७ करोड ३७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३८ करोड रुपैयाँ रहेको छ ।































