काठमाडौँ । सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश गरेको छ । २०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले आफ्नो छैटौँ वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ।
कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् । कोषमा हाल १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ । आफ्नो स्थापनाको दिवसको अवसर पारेर कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ।
वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको थियो।
सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले जनाएको छ । वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ । तर, वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको कोषका कार्यकारी निर्देशकले जानकारी दिएका छन्।
वैदेशिक रोजगारमा रहेर कोषमा योगदान गर्दै आएका तीन जनाको मृत्यु भइसकेको कोषले जनाएको छ । तर उनीहरूको कोषबाट पाउने सुविधा भने नपाउने अधिकारीले बताए । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने कोषको कार्यविधिमा उल्लेख छ ।
मृतकहरूले १ महिना मात्र योगदान गरेको देखिएकोले सुविधाका लागि उनीहरू योग्य नदेखिएको कोषको एक अधिकारीले बताए । कोषले असोज १७ गतेदेखि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी स्थानीय तह अन्तर्गतका अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी कोषमा आबद्धताका लागि पत्र पठाएको थियो ।
हालसम्म ६ वटा स्थानीय तहले कोषमा आबद्धताका लागि सहमति जनाई पत्राचार समेत गरिसकेका छन् भने २ स्थानीय तह आबद्धताका लागि प्रक्रियामा रहेका छन्। कोषले निकट भविष्यमा संगठन तथा व्यवस्थापनको आधारमा आवश्यकताको आधारमा शाखा विस्तारको कार्यक्रम राखेको छ।


































