National life

असार १५ : दही र मही विक्रीमा ‘क्रान्ति’ ल्याउने लक्ष्य, संस्कृति जगेर्ना गर्न अभियान

दही–चिउरा संस्कृति : नयाँ पुस्तालाई जोड्न शसक्त अभियान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ असार २०८३, सोमबार
1KShares
असार १५ : दही र मही विक्रीमा ‘क्रान्ति’ ल्याउने लक्ष्य, संस्कृति जगेर्ना गर्न अभियान
ncell

मनिषा बस्नेत, काठमाडौं । असार १५ नेपाली समाजका लागि केवल राष्ट्रिय धान दिवस मात्र नभई कृषिसँग जोडिएको संस्कृति, परम्परा र मौलिक खानपानको उत्सव पनि हो । यस दिन दही–चिउरा खाने परम्परा पुस्तौँदेखि चल्दै आएको छ । 

‘दही–चिउरा’ केवल एउटा परिकार मात्र नभई नेपाली समाजमा युगौँदेखि चलिआएको मौलिक संस्कृति र सभ्यताको प्रतीक हो । कृषिप्रधान मुलुक नेपालमा असार १५ को दिनलाई धान दिवसका रूपमा मात्र नभई राष्ट्रिय दही–चिउरा खाने दिनका रूपमा समेत मनाउने गरिन्छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर बदलिँदो जीवनशैली, सहरीकरण र जंकफुड संस्कृतिको प्रभावका कारण यो परम्परा क्रमशः ओझेलमा पर्दै गएको भन्दै दुग्ध व्यवसायी क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ओझेलमा पर्न थालेको ‘दही–चिउरा खाने परम्परालाई पछिल्लो समय डेरी व्यवसायी र विभिन्न सरकारी निकायले सक्रिय रूपमा प्रवद्र्धन गरिरहेका पनि छन्।

पछिल्लो समय नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगहरूले दही–चिउरा र मोहीको उपभोग बढाउने अभियानलाई तीव्र बनाएका छन्।

अभियानले नेपाली मौलिक संस्कृतिको संरक्षणसँगै दूध उत्पादक किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्रलाई समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

मौलिक संस्कृति जोगाउने अभियान

नेपालको मौलिकता भनेकै खेतको आलीमा बसेर हिलो खेल्दै, बेठी लगाउँदै दही–चिउरा र अचार खाने परम्परा हो। परापूर्वकालमा खेतीको व्यस्त सिजनमा सबैतिर ताजा खाद्यवस्तु उपलब्ध नहुने हुँदा पुर्खाहरूले असार १५ मा दही–चिउरा खाने परम्परा बसालेका थिए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार यदि हामीले यसको संरक्षण नगर्ने हो भने भावी पुस्ताले यो पहिचान बिर्सनेछ । त्यसैले एसोसिएसनले विगत पाँचसात वर्षदेखि असार १५ र साउन १५ का दिनहरूमा दही–चिउरा र खीर खाने विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

नेपाल डेरी एसोसिएसनले विगत पाँचदेखि सात वर्षसम्म दही–चिउरा खाने र साउन १५ मा खीर खाने अभियान सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष दाहालका अनुसार यो अभियानको मुख्य उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नु हो । 

उनले भने, ‘समाजमा मौलिक संस्कृति बिर्सिने प्रवृत्ति बढ्दै गएको छ । असार १५ मा दही–चिउरा र साउन १५ मा खीर खाने परम्परा सांस्कृतिक पहिचान हो। यदि हामीले यसको संरक्षण गरेनौं भने भावी पुस्ताले आफ्नो मौलिक पहिचान नै बिर्सनेछन् ।’

दाहालका अनुसार रोपाइँसँग जोडिएको दही–चिउरा खाने चलन खानाको संस्कृतिसँगै नेपाली कृषिजन्य जीवनशैलीको प्रतीक पनि हो।

उनले भने, ‘पहिला खेतको आलीमा बसेर दही–चिउरा, अचार खाने, हिलो खेल्ने, बाउसे गर्ने र रोपाइँ गीत गाउँदै धान रोप्ने चलन थियो। अहिले त्यो वातावरण हराउँदै गएको छ। त्यसैले हरेक वर्ष यस्ता कार्यक्रम गरेर पुरानो संस्कृतिलाई सम्झाउने प्रयास गरिरहेका छौं।’

दहीको बिक्रीमा उल्लेख्य वृद्धि हुने अपेक्षा

काठमाडौं दुग्ध वितरण आयोजना (डीडीसी) ले यस वर्ष असार १५ लाई लक्षित गर्दै करिब ३० हजार केजी दही बिक्री गर्ने लक्ष्य लिएको छ । गत वर्ष आयोजनाले २० देखि २५ हजार केजी दही बिक्री गरेको थियो। यसवर्ष माग उल्लेख्य रूपमा बढेकाले बिक्री पनि बढ्ने विश्वास गरिएको छ ।

काठमाडौं दुग्ध वितरण आयोजना बालाजुका प्रमुख चक्रवर्ती पौडेलका अनुसार अहिले दहीको माग ह्वात्तै बढेको छ । 

उनले भने, ‘गत वर्ष २० देखि २५ हजार केजी दही बिक्री गरेका थियौं । यस वर्ष करिब ३० हजार केजी बिक्री गर्ने लक्ष्य लिएका छौं । बजारमा माग निकै बढेको छ । काठमाडौं दुग्ध वितरण आयोजना डीडीसीकै सबैभन्दा बढी बिक्री हुने आयोजना हो । यसपालि प्रधानमन्त्रीले याक चिजको प्रचार गरेपछि पनि डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको हामीले अनुभव गरेका छौं । आउटलेटहरूमा बिक्री झण्डै दोब्बर भएको छ ।’

उनका अनुसार उपभोक्ताले अभाव महसुस गर्न नपरोस् भन्दै यस वर्ष दहीको पर्याप्त मौज्दात राखिएको छ । 

मोहीको बढ्दो लोकप्रियता

पौडेलका अनुसार अहिले मोहीको माग दहीभन्दा पनि तीव्र गतिमा बढिरहेको छ । तर उत्पादन क्षमता र जनशक्तिको अभावका कारण मागअनुसार आपूर्ति गर्न नसकिएको उनले स्वीकार गरे । 

‘मोहीको डिमान्ड अत्यधिक छ तर अहिलेको उत्पादन क्षमता सीमित भएकाले सबै माग पूरा गर्न सकिएको छैन । अहिले सामाजिक कार्यक्रम, विवाह, पार्टी प्यालेसदेखि विभिन्न समारोहमा चिसो पेय पदार्थको विकल्पका रूपमा मोही प्रयोग हुन थालेको छ । स्वास्थ्यका दृष्टिले पनि यो धेरै उपयोगी भएकाले यसको व्यापार लगातार बढिरहेको छ,’ उनले भने । 

उनले मोहीलाई केवल परम्परागत पेय पदार्थ नभई स्वस्थ जीवनशैलीसँग जोडिएको विकल्पका रूपमा समाजले स्वीकार्न थालेको बताए ।

मोही अभियानले बदलियो धारणा

नेपाल डेरी एसोसिएसनले करिब चार वर्षअघि सुरु गरेको ‘मोही अभियान’ अहिले सफल बन्दै गएको अध्यक्ष दाहाल बताउँछन् । 

उनका अनुसार पहिले मोहीलाई सामान्य वर्गको पेय पदार्थ भनेर हेर्ने गरिन्थ्यो। अहिले भने प्याकेजिङ गरेर बजारमा ल्याइएपछि होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस र विद्यालयसम्म यसको प्रयोग बढेको छ ।

‘हामीले विद्यालय, आश्रम तथा विभिन्न सार्वजनिक स्थानमा गएर मोहीको महत्वबारे जानकारी दियौं। अहिले युवा पुस्ताले पनि अन्य चिसो पेय पदार्थको सट्टा मोही रोज्न थालेका छन् । यो अभियानको सकारात्मक परिणाम हो,’ उनले भने । 

पोली प्याकमा मात्रै पाइएको डीडीसीको मोही अब साउन एक गतेदेखि बोतलमा पनि पाइने भएको छ । काठमाडौं दुग्ध वितरण आयोजनाबाट साउन १ देखि बोतलमा मोही वितरण गर्ने तयारी रहेको आयोजनाका प्रमुख पौडेलले बताए । 

‘काठमाडौं दुग्ध वितरण आयोजनाबाट पोली प्याकमा मात्रै मोही निकालेका छौं। अब बोतलको डिजाइन फाइनल भइसक्यो । साउन १ देखि हामी बोतलमा पनि निकाल्दै छौं। १ लिटरको र ३०० एमएलको दुई थरी बोतलमा पनि हाम्रो यहाँबाट उत्पादन भएको मोही आउँछ,’ उनले भने । 

दूध बजारमा सुधार

केही वर्षअघि कोभिड–१९ महामारी र भूकम्पपछि दूधको खपत घट्दा किसानले दूध फाल्नुपर्ने अवस्था आएको थियो। तर अहिले अवस्था फेरिएको छ ।

दाहालका अनुसार अहिले दूधको बजार पुनः विस्तार भइरहेको छ । गर्मीयाममा बजारमा आउने करिब ३२ लाख लिटर दूधमध्ये झण्डै ५० प्रतिशत दही उत्पादनमा प्रयोग हुने गरेको छ ।

त्यस्तै अहिले मासिक डेढदेखि दुई लाख लिटर प्याकेजिङ गरिएको मोही बजारमा बिक्री भइरहेको छ । उनका अनुसार डेरी उद्योगमा लगानी बढ्दै गएको छ भने नयाँ उद्योगहरूले समेत बोतलमा मोही उत्पादन सुरु गरिसकेका छन्।

स्वास्थ्य र स्वदेशी उत्पादनलाई प्राथमिकता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपाली समाजमा बढ्दो जंकफुड संस्कृतिले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको बताए।

उनले भने, ‘दही, दूध, मोही, सागसब्जीजस्ता प्राकृतिक खाद्य पदार्थको प्रयोग बढाउन आवश्यक छ । यस्ता खाद्य पदार्थले शरीरलाई रोगसँग लड्ने क्षमता दिन्छन्। जंकफुडको अत्यधिक प्रयोगले विभिन्न दीर्घरोग बढिरहेका छन्। त्यसैले हामीले आफ्ना बालबालिकालाई पनि स्वदेशी र स्वास्थ्यवर्धक खाना खाने बानी बसाल्नुपर्छ।’

श्रेष्ठले स्वदेशी डेरी उत्पादनको प्रयोग बढ्दा किसान, उद्योग र राष्ट्रिय अर्थतन्त्र तीनै पक्ष लाभान्वित हुने बताए ।

‘उपभोग बढेपछि किसानको दूध बिक्री हुन्छ, उद्योग चल्छ, रोजगारी सिर्जना हुन्छ र स्वदेशी पूँजी देशभित्रै घुम्छ । त्यसैले सरकारले पनि डेरी क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ,’ उनले भने।

नयाँ पुस्तामा घट्दै दही–चिउराको आकर्षण

नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा ओखलढुंगा डेरी एन्ड एग्रिभेटका सञ्चालक दिपप्रसाद धमलाले नयाँ पुस्तामा दही–चिउरा खाने बानी हराउँदै गएको बताए।

उनले भने, ‘दही–चिउरा हाम्रो अत्यन्तै मौलिक परिकार हो । तर अहिलेका केटाकेटीले यसलाई बिर्सिँदै गएका छन् । त्यसैले यो किन खाने, यसको स्वास्थ्य लाभ के हो भन्ने जानकारी दिन अभियान सञ्चालन गरिरहेका छौं ।’

उनका अनुसार असार १५ मा दही–चिउरा खाने परम्परा केवल संस्कृतिको विषय नभई स्वास्थ्यसँग पनि जोडिएको छ।

प्याकेजिङ गरिएको मोही देशभर पुर्याउने लक्ष्य

धमलाका अनुसार अहिले दर्जनभन्दा बढी डेरी उद्योगले प्याकेजिङ गरिएको मोही उत्पादन सुरु गरिसकेका छन् । आगामी दिनमा देशभरका किराना पसलसम्म बोतलमा मोही उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

‘पहिले मोही खुला रूपमा मात्र पाइन्थ्यो। अहिले प्याकेजिङ भएपछि यसको विश्वास बढेको छ। अब हरेक पसलमा सजिलै उपलब्ध गराउने हाम्रो लक्ष्य हो,’ उनले भने।

दही–चिउरा संस्कृति, स्वास्थ्य र अर्थतन्त्रलाई जोड्ने अभियान

डेरी व्यवसायीहरूका अनुसार दही–चिउरा र मोहीको प्रवद्र्धन केवल बिक्री बढाउने उद्देश्यले गरिएको अभियान होइन । यसले नेपाली संस्कृति जोगाउने, किसानलाई प्रोत्साहन गर्ने, डेरी उद्योगलाई विस्तार गर्ने, स्वदेशी उत्पादनको प्रयोग बढाउने र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने बहुआयामिक उद्देश्य बोकेको छ ।

उनीहरूका अनुसार यदि विद्यालयस्तरदेखि नै दूध, दही र मोहीको पोषण मूल्यबारे शिक्षा दिन सकियो भने भविष्यमा जंक फुडको प्रयोग घट्दै जाने र स्वदेशी खाद्य संस्कृतिप्रति आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यस वर्ष पनि असार १५ नजिकिँदै जाँदा बजारमा दहीको माग बढेको छ । डेरी उद्योगीहरूले पर्याप्त उत्पादनको तयारी गरेका छन् भने उपभोक्तालाई पनि स्वदेशी उत्पादन प्रयोग गरी मौलिक परम्परालाई निरन्तरता दिन आग्रह गरेका छन् ।

दही–चिउरा नेपाली समाजको एउटा साधारण परिकार मात्र होइन, कृषि सभ्यता, श्रम, संस्कृति, स्वास्थ्य र आत्मनिर्भरताको प्रतीक हो । यसलाई जोगाउनु भनेको नेपाली पहिचान जोगाउनु पनि हो भन्ने सन्देश डेरी क्षेत्रले यस वर्षको अभियानमार्फत दिन खोजेको छ ।

दही–चिउरा हाम्रो अत्यन्त मौलिक खानपान हो, जो परापूर्वकालदेखि चल्दै आएको छ । तर, पछिल्लो समय यो परम्परा बिर्सने चलन बढ्दै गएकाले यसको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?