काठमाडौँ । फिफाले सन् २०२६ विश्वकपको फाइनल सकिएपछि पनि त्यसबाट आम्दानी गर्ने योजना सार्वजनिक गरेको छ।
विश्वकप फाइनल खेलिने मैदानको घाँसका टुक्रा बिक्रीमा राख्ने घोषणा गर्दै फिफाले एउटा टुक्राको सुरुआती मूल्य ४५० अमेरिकी डलर तोकेको छ।
फिफाले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार फाइनलमा प्रयोग हुने मैदानको वास्तविक घाँस काटेर विशेष एक्रिलिक आवरणभित्र सुरक्षित राखी स्मरणीय वस्तुका रूपमा बिक्री गरिनेछ।
यस वर्षको विश्वकपका लागि महँगा टिकट बिक्री गरेको भन्दै आलोचना खेपिरहेको फिफाले यस योजनाबाट मात्रै १ करोड १० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।
फिफाको आधिकारिक स्टोरमा राखिएको विवरणअनुसार, ‘२०२६ फिफा विश्वकप फाइनलमा प्रयोग भएको वास्तविक मैदानको एउटा टुक्रा आफ्नै संग्रहमा राख्ने अवसर’ प्रदान गरिनेछ। प्रत्येक टुक्रामा फाइनल खेलिएको मैदानको मौलिक घाँस रहनेछ, जसलाई प्रिमियम एक्रिलिकमा स्थायी रूपमा सुरक्षित गरिएको हुनेछ।
फिफाका अनुसार एक्रिलिकमा प्रामाणिकताको सुरक्षा चिन्ह हुनेछ। यसलाई विशेष डिजाइन गरिएको आकर्षक बक्समा राखेर सङ्कलक, समर्थक र फुटबलप्रेमीका लागि तयार पारिनेछ।
फिफाले घाँसका टुक्रा ४५०, ९००, १,२०० र ३,००० अमेरिकी डलर मूल्यका चार तहमा बिक्री गर्नेछ। सबैभन्दा महँगो ३,००० डलरको संस्करणमा तीन इन्च × तीन इन्च आकारको घाँससँगै सुनको जलप लगाइएको फाइनल टिकटको प्रतिकृति, विश्वकप बलको सानो प्रतिकृति र क्रिस्टलबाट बनाइएको विश्वकप ट्रफीको प्रतिकृति पनि समावेश हुनेछ।
प्रत्येक मूल्य श्रेणीमा अधिकतम २,०२६ वटा मात्र स्मरणीय वस्तु उपलब्ध हुने फिफाले जनाएको छ।
यी सामग्री हाल अमेरिका र युरोपका ठेगानामा मात्र पठाइनेछ। साथै, सबै अर्डर विश्वकप फाइनल सम्पन्न भएपछि मात्रै पठाइने फिफाले स्पष्ट पारेको छ।
यसअघि पनि फिफाले विश्वकप फाइनलका साधारण टिकटको मूल्य ३२ हजार ९७० अमेरिकी डलरसम्म निर्धारण गरेको थियो। खानपिनसहितका आतिथ्य प्याकेज टिकटको मूल्य ३४ हजार ५०० र ३२ हजार ५०० अमेरिकी डलर राखिएको छ।
विश्वकप फाइनल खेलिने न्यु जर्सी–न्युयोर्क स्टेडियम (मेटलाइफ स्टेडियम)मा प्रयोग हुने प्राकृतिक घाँस नर्थ क्यारोलिनाको एक टर्फ फार्ममा उत्पादन गरिएको प्रतिवेदनमा उल्लेख छ।
विश्वकपका सबै रंगशालामा समान स्तरको मैदान सुनिश्चित गर्न सामान्यतया कृत्रिम सतह प्रयोग हुने सियाटल, एटलान्टा, न्यु जर्सी, भ्यानकुभर, आर्लिङ्टन र इन्गलउड लगायतका रंगशालामा पनि प्राकृतिक घाँस बिछ्याइएको थियो।
यद्यपि, फाइनलमा प्रयोग नहुने अन्य विश्वकप रंगशालाको घाँसको भविष्यबारे भने फिफाले कुनै जानकारी दिएको छैन।


































