काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रमुख प्रणव गुप्ताले नेपालले बाह्य आर्थिक सूचकमा सुधार देखाए पनि आन्तरिक अर्थतन्त्र अझै गम्भीर चुनौतीमा रहेको बताएका छन्।
ललितपुरमा आयोजित ‘बोधी संवाद’ कार्यक्रममा उनले समष्टिगत आर्थिक अवस्था स्थिर भए पनि बैंकिङ क्षेत्र र वास्तविक अर्थतन्त्रमा चुनौती बढिरहेको उल्लेख गरे। उनका अनुसार निष्क्रिय कर्जा वृद्धि र सहकारी क्षेत्रको संकटले आन्तरिक वित्तीय प्रणालीमा असर पारेको छ।
रेमिट्यान्स प्रवाहले बाह्य सूचकलाई मजबुत बनाएको भए पनि यसले दीर्घकालीन रूपमा उत्पादन, रोजगारी र संरचनात्मक सुधारमा अपेक्षित प्रभाव पार्न नसकेको उनले बताए।
उनले नेपाल अहिले कम लगानी, कमजोर विश्वास र रेमिट्यान्समा अत्यधिक निर्भरताको चक्रमा रहेको टिप्पणी गर्दै यसबाट बाहिर निस्कन गहिरो संरचनात्मक सुधार आवश्यक रहेको बताए।
पुँजीगत खर्च बढाउन नसक्नु, निर्णय प्रक्रियामा ढिलाइ र संस्थागत समन्वयको कमजोरीले अर्थतन्त्रमा गति रोकिएको उनको विश्लेषण छ। सुधारहरू कागजमा मात्र सीमित नभई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनले उल्लेख गरे।
गुप्ताले सुशासन सुधार, कर प्रणाली सुदृढीकरण, सार्वजनिक लगानी दक्षता र निजी क्षेत्रका अवरोध हटाउन सके आगामी दशकमा अर्थतन्त्रमा उल्लेखनीय वृद्धि सम्भव हुने धारणा राखे।

































