काठमाडौँ। व्यवसायी मीनबहादुर गुरुङले दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल निर्माणको कार्य थालनी गरेका छन्। आज व्यवसायी गुरुङले विशेष पूजापाठ सहित स्क्वायर होटलको शिलान्यास गरेका छन् ।
नेकमा एमालेको पार्टी कार्यालय बनाउन जग्गा दान गरेसंगै चर्चामा रहेका व्यवसायी गुरुङले सोमबार दरबारमार्गमा भूमि पूजासहित होटल निर्माण सुरु गरेका हुन्। दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको बहुमत सेयर व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले खरिद गरेपछि होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको हो।
अब पुरानो अन्नपूर्ण होटलको भवनहरू भत्काएर नयाँ भवन निर्माण गरिने भएको छ। होटलको सम्पूर्ण संरचना निर्माण गरेर २०८५ को वैशाखसम्म सञ्चालनमा ल्याइसक्ने तयारी रहेको रहेको व्यवसायी गुरुङको भनाई छ । नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने अन्नपूर्ण स्क्वायरलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य रहेको उनको भनाई छ । गुरुङको अनुसार होटलमा ६ अर्ब रुपैयाँ बढी लगानी हुने अनुमान छ ।
गुरुङले भूमि पूजाका क्रममा अन्नपूर्ण स्क्वायरलाई “सुन्दर नेपालको सुन्दरताको प्रतीक”का रूपमा परिभाषित गरेका हुन् छन् । २५ तलाको यो होटलमा ६ हजार मानिस अटाउने ठूला तीन हल, ४० वटा अपार्टमेन्ट, र ३३० वटा कोठा रहनेछन् ।


































