काठमाडौँ । नेपाल बीमा प्राधिकरण कुपण्डोलस्थित केन्द्रीय कार्यालय परिसरमा पेशागत बीमा अभिकर्ता संघ नेपालको नेतृत्वमा बीमा अभिकर्ताहरुले धर्ना दिएका छन् । बीमा प्राधिकरणले बीमा नियमावलीमार्फत अभिकर्ताहरूको विभिन्न क्षेत्रहरूमा अधिकार कटौती गरेको भन्दै बीमा प्राधिकरणको कार्यालयमा धर्ना दिएका हुन् ।
गत शुक्रवार मात्रै बीमा नियमावली २०८० मा रहेका अभिकर्ताहरूको हक विपरीतका बुदाँहरुलाई सच्याउनका लागि अभिकर्ता संघले प्राधिकरणलाई ज्ञापन पत्र बुझाएका थियो । प्राधिकरणले आवश्यक अध्ययन गरेर अभिकर्ताका जायज मागहरूलाई सम्बोधन गर्छौ भने पनि प्राधिकरणको कार्यशैली आफूहरूलाई चित्त नबुझेकाले धर्ना दिनुपरेको पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय सचिव कल्याण विक्रम पाण्डेले आर्थिक भ्वाईसलाई बताएका छन् ।
उनले भने, ‘प्राधिकरणले आइतबार हामीसँग छलफल गर्दा नियमावलीमा राखिएको अभिकर्ताको लागि राखिएको शैक्षिक प्रावधान लगायतका केही बुँदामा सहमति भए पनि अभिकर्ताहरूले पाउने कमिसन र इन्सिएटिभजस्ता बुदाँहरुमा भने प्राधिकरणले हाम्रो कुराहरू सुनिदिएको छैन ।’ उनले अगाडी थपे, प्राधिकरणले हामीसँगको छलफलबाट निकालेको निष्कर्षका बारेमा पनि हामी अनविज्ञ नै छौ । केही कुरा हाम्रो पक्षमा भए पनि एक दुई बुँदामा हाम्रो असहमति अझै छ । थप कुराहरू बीमा बोर्डसँगको छलफलपछि मात्र हुन्छ भनेर भनेको छ । तर बोर्ड मिटिङ कहिले हुने हो केही बताएको छैन । त्यसकारण हाम्रा माग सम्बोधन हुनेमा अझै शंका गर्ने ठाउँ पर्याप्त छ ।
बीमा नियमावलीमा अभिकर्ताको हित विपरीत रहेका बुदाँहरु नसच्याइँदासम्म आन्दोलनकै अवस्थामा रहने बताउने संघले आवश्यकता अनुसार सशक्त आन्दोलन गर्ने चेतावनी संघले दिएको छ । बीमा अभिकर्ता संघले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम खाइपाइ आएको सेवा सुविधा कटौती हुन नहुने, एग्रिगटेर लाइसेन्स गैर कानुनी रूपमा वितरण गर्ने विषय बीमा नियमावलीमा समावेश गरिएकोले सो हटाउनुपर्ने, बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि संस्थालाई बीमा अभिकर्ताको लाइसेन्स दिन नहुने लगायतका मागहरू समेत अघि सारेका छन् ।
त्यस्तै, बीमालेख शतप्रतिशत नवीकरण भएको प्रमाण पेश गरेपछि मात्रै बीमा अभिकर्ताको लाइसेन्स नवीकरण हुने व्यवस्था खारेज गर्नुपर्ने, एकल बीमा शुल्कलाई पनि सेवा सुविधा तथा इन्टेन्सिभको रूपमा गणना गर्न दिइनुपर्ने लगायतका मागहरू अघि सारेका छन्।


































