काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि उक्त प्रणालीको परीक्षणसमेत सुरु गरेको छ।
सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सुशासनमा आधारित बनाउन प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ। नयाँ प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका सूचना प्रविधि (आईटी) प्रमुख र दाबी (क्लेम) प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइँदैछ।
सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो तथा यसअघि पाएको कामलगायतका आधारमा छनोटलाई पारदर्शी बनाउन प्रणाली विकास गरिएको हो। हाल सर्भेयर छनोट वैज्ञानिक र पारदर्शी नभएको तथा एउटै सर्भेयरले बढी र अन्यले कम काम पाउने गरेको गुनासो आउने गरेको प्राधिकरणले जनाएको छ।
हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था छ। तर, सर्भेयरले कति काम पाए, कति सम्पन्न गरे र नयाँ काम लिन सक्ने अवस्थामा छन् वा छैनन् भन्ने तथ्यांक व्यवस्थित रूपमा राख्न कठिन हुँदै आएको छ।
हाल प्रणालीमा ८८ जना संस्थागत सर्भेयरसहित कुल ६८० सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ। सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक स्थान, पोर्टफोलियो तथा यसअघि प्राप्त गरेको कामलगायतका विवरण प्रणालीमा राखिएको छ।
प्रणाली सञ्चालनमा आएपछि कुनै बीमा दाबी दर्ता भएमा सम्बन्धित ‘केस’का लागि उपयुक्त सर्भेयर प्रणालीले तोकिएका मापदण्डका आधारमा छनोट गर्नेछ। उदाहरणका लागि, सवारी दुर्घटनासम्बन्धी दाबी आएमा उक्त विषयमा विशेषज्ञता भएको, सम्बन्धित स्थानमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ।
यसबाट बीमा कम्पनीका अधिकारीले हरेकपटक म्यानुअल रूपमा सर्भेयर छनोट गर्नुपर्ने अवस्था कम हुनेछ। साथै, बीमा कम्पनीले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको भन्ने गुनासोसमेत सम्बोधन हुने अपेक्षा गरिएको छ।
सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता, समान अवसर र जवाफदेहिता कायम गर्ने उद्देश्यले प्रणाली विकास अघि बढाइएको प्राधिकरणले जनाएको छ। प्रणालीले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरले पर्याप्त अवसर नपाउने अवस्थासमेत पहिचान गर्न सहयोग गर्नेछ।
प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, दाबी प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव लिइएको थियो। प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका आधार तथा प्यारामिटर तयार गरी सफ्टवेयर विकास गरिएको हो।
हाल बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन्। प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिनेछ। प्राधिकरणले फायरवाल, भीएपीटी (VAPT) लगायतका सुरक्षा परीक्षणसमेत गर्ने जनाएको छ।
नयाँ प्रणालीबाट सर्भेयरले प्राप्त गरेको काम, सम्पन्न गरेको काम तथा नयाँ काम लिन सक्ने अवस्था ट्र्याक गर्न सकिनेछ। साथै, कुन सर्भेयर कुन आधारमा छनोट भयो भन्ने विवरणसमेत प्रणालीमा अभिलेख रहनेछ।
प्राधिकरणका अनुसार यसबाट सर्भेयर छनोटमा लाग्ने समय घट्नुका साथै बीमा दाबी प्रक्रियामा हुने ढिलाइ, पुनः मूल्याङ्कन तथा सेवाग्राहीसँग उत्पन्न हुन सक्ने विवादसम्बन्धी समस्या न्यूनीकरण गर्न सहयोग पुग्नेछ। घटनाअनुसार उपयुक्त सर्भेयर छनोट हुँदा दाबी मूल्याङ्कनमा लाग्ने समय र लागतसमेत घट्ने अपेक्षा गरिएको छ।
दीर्घकालमा प्रणालीमार्फत सर्भेयरसम्बन्धी ठूलो परिमाणमा तथ्यांक संकलन हुनेछ। उक्त तथ्यांकका आधारमा सर्भेयरसम्बन्धी नीति निर्माण, सेवा प्रवाहको अध्ययन तथा सेवाग्राहीले प्राप्त गरेको सेवाको मूल्याङ्कन गर्नसमेत सहज हुने प्राधिकरणको भनाइ छ।






























