काठमाडौं । नेपाल बीमा प्राधिकरणले इन्जिनियरिङ बीमालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ निर्देशिकाको मस्यौदा तयार पारेको छ।
निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालेखमा एकरूपता कायम गर्ने र बीमितको हित संरक्षण गर्ने उद्देश्यले प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशिका’को मस्यौदा तयार गरेको हो।
प्राधिकरणले तयार पारेको मस्यौदामाथि सरोकारवाला तथा सर्वसाधारणसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ।
प्राधिकरणका अनुसार मस्यौदामाथि सुझाव दिन इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मिति २०८३ कात्तिक १७ गतेदेखि सात दिनभित्र बीमालेख शाखाको आधिकारिक इमेलमार्फत आफ्ना सुझाव पठाउन सक्नेछन्।
निर्देशिकालाई थप प्रभावकारी बनाउन प्राप्त सुझावलाई समेट्ने उद्देश्यले प्राधिकरणले सरोकारवालासँग प्रतिक्रिया माग गरेको जनाएको छ। यससम्बन्धमा थप जानकारी आवश्यक परेमा प्राधिकरणका सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्नसमेत सकिनेछ।






























