काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको आरोपमा ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ । प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्नुका साथै तीन महिनासम्म अभिकर्ता परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणका अनुसार अनलाइन परीक्षामा सहभागी केही परीक्षार्थीले आवेदन प्रणालीमा प्रविष्ट गरेको तस्बिरमा भएको व्यक्तिभन्दा फरक व्यक्ति उपस्थित गराएर परीक्षा दिएको पाइएको छ । परीक्षामा अनियमितता भइरहेको विषय परीक्षा निरीक्षणमा खटिएको समूहले पत्ता लगाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बीमा ऐन तथा प्रचलित परीक्षा सञ्चालनसम्बन्धी व्यवस्थाविपरीत कार्य गरेको ठहर गर्दै सम्बन्धित परीक्षार्थीमाथि कारबाही गरेको हो ।
प्राधिकरणको निर्णयअनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम उनीहरूको परीक्षा रद्द गरिएको छ । यस्तै, सोही दफाको उपदफा (६) बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा आवेदन दिन तथा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।
अनलाइन परीक्षामा वास्तविक परीक्षार्थीको पहिचान पुष्टि गर्ने प्रक्रिया र परीक्षा प्रणालीको मर्यादा कायम राख्न प्राधिकरणले यस्तो कारबाही गरेको जनाएको छ ।





































