National life

रसुवा बाढीको क्षतिमा बीमितलाई राहत, अब ५०% रकम कुर्नु नपर्ने

रसुवा बाढीपीडितलाई राहतको बाटो खुल्यो, बीमाको आधा रकम अग्रिम पाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
347Shares
रसुवा बाढीको क्षतिमा बीमितलाई राहत, अब ५०% रकम कुर्नु नपर्ने
ncell

काठमाडौं । रसुवा बाढीबाट क्षति व्यहोरेका बीमितलाई बीमा दाबी भुक्तानी सहज र छिटो उपलब्ध गराउन नेपाल बीमा प्राधिकरणले विशेष व्यवस्था लागू गरेको छ ।

प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ स्वीकृत गर्दै प्रारम्भिक मूल्यांकनबाट अनुमानित दायित्व निर्धारण भएपछि बीमा कम्पनीले त्यसको ५० प्रतिशतसम्म रकम अग्रिम रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।

गत भदौ १० गते लेहेन्दे खोला–भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा बीमित सम्पत्ति, सवारीसाधन, परियोजना, व्यावसायिक मौज्दात तथा मानवीय क्षति भएको थियो । सोही क्षतिको दाबी फछ्र्योटलाई सहज बनाउन प्राधिकरणले विशेष कार्यविधि ल्याएको हो ।

Royal Enfield
nic asia capital

अनुमानित दायित्वको ५०% सम्म अग्रिम

कार्यविधिअनुसार प्रारम्भिक मूल्यांकन वा उपलब्ध प्रमाणका आधारमा बीमा कम्पनीको अनुमानित दायित्व निर्धारण गर्न सकिने अवस्था भए बीमितलाई त्यसको बढीमा ५० प्रतिशतसम्म अग्रिम रकम दिनुपर्नेछ ।

अन्तिम दाबी फछ्र्योटका क्रममा यसअघि भुक्तानी गरिएको अग्रिम रकम समायोजन गरिनेछ ।

पूर्ण क्षतिग्रस्त सवारीमा पनि अग्रिम भुक्तानी

बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त सवारीसाधनका लागि पनि प्राधिकरणले सहजीकरण गरेको छ ।

यातायात व्यवस्था कार्यालयमा दर्ता भएको सवारी पूर्ण रूपमा नष्ट भएको पुष्टि भएमा बीमा कम्पनीले बीमांक वा सवारीको प्रचलित बजार मूल्य, जुन कम हुन्छ, त्यसको ५० प्रतिशतसम्म तत्काल अग्रिम भुक्तानी गर्नुपर्नेछ ।

बाँकी रकम भने सवारीको दर्ता खारेजी प्रमाणपत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पुनर्बीमा कम्पनीले पनि पेश्की दिनुपर्ने

नयाँ कार्यविधिले पुनर्बीमा कम्पनीलाई समेत दाबी भुक्तानी प्रक्रियामा शीघ्र रकम प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

सर्भेयरको प्रारम्भिक प्रतिवेदन तथा उपलब्ध प्रमाणका आधारमा पुनर्बीमा कम्पनीले बीमा कम्पनीलाई अनुमानित दायित्वको ५० प्रतिशतसम्म पेश्की रकम उपलब्ध गराउनुपर्नेछ ।

कागजात नहुँदा पनि दाबी रोक्न नपाइने

बाढीका कारण भौतिक कागजात नष्ट भएको अवस्थामा समेत दाबी प्रक्रिया रोक्न नपाइने व्यवस्था गरिएको छ । तत्काल आवश्यक कागजात उपलब्ध नभए सरकारी, संस्थागत वा विद्युतीय अभिलेखलाई प्रमाणका रूपमा प्रयोग गर्न सकिनेछ ।

वास्तविक क्षति पुष्टि हुने पर्याप्त आधार भएमा बीमा कम्पनीले दाबी स्वीकार गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

सम्पत्ति, परियोजना तथा व्यावसायिक मौज्दातको क्षतिका लागि बाढीअघिको र बाढीपछिको अवस्थाको फोटो, सम्बन्धित निकायको क्षति प्रमाण, कर तथा वित्तीय अभिलेख, स्टक विवरण, लेखापरीक्षण प्रतिवेदनलगायत कागजातलाई प्रमाणका रूपमा लिन सकिनेछ ।

निर्माण आयोजनाको हकमा बिल अफ क्वान्टिटी तथा अन्तरिम भुक्तानी प्रमाणपत्रलगायत कागजातसमेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

सामान्य त्रुटिमा दाबी अस्वीकार गर्न नपाइने

कार्यविधिले बीमितले प्रारम्भिक सूचना दिँदा भएको सामान्य त्रुटि वा सामान्य कारण देखाएर बीमा कम्पनीले दाबी अस्वीकार गर्न नपाउने व्यवस्था गरेको छ ।

क्षतिको प्रकृति सरल रहेको, पर्याप्त प्रमाण उपलब्ध भएको र प्राविधिक जटिलता नरहेको अवस्थामा बीमा कम्पनीले आफ्नै कर्मचारीमार्फत स्थलगत निरीक्षण तथा क्षति मूल्यांकन गर्न सक्नेछ ।

यससँगै रसुवा बाढीबाट प्रभावित बीमितले अन्तिम दाबी फछ्र्योटका लागि लामो समय कुर्नुपर्ने अवस्था कम हुने र प्रारम्भिक मूल्यांकनपछि ५० प्रतिशतसम्म रकम अग्रिम रूपमा प्राप्त गर्ने बाटो खुलेको छ ।

यो समाचार शेयर गर्नुहोस्
347SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?