काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टार्टअपलाई ५ वर्षका लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण उपलब्ध गर्ने व्यवस्था मिलाउँदै गरेको जनाएका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो सरकारले एक वर्ष अवधि पूरा गरेको अवसरमा सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘यस आर्थिक वर्षभित्र उद्योग मन्त्रालयबाट योग्यता पुगेका स्टार्टअपलाई ५ वर्षका लागि २ प्रतिशत व्याजदरमा ५० लाखसम्म ऋण दिने व्यवस्था मिलाइँदै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नागरिकमा उद्यमशील सोच जगाउन विद्यालयदेखि विश्वविद्यालयसम्म समुदायका यथार्थ र सम्भावनासँग जोडिएको प्रविधिउन्मुख पाठ्यक्रम पनि तयार गरिँदै छ।’
उनले हेलो सरकारको कार्यकक्ष व्यवस्थित र प्रविधिसम्पन्न बनाई गुनासो सुनुवाइ कार्य चौबीसै घन्टा सुरु गरिएको पनि बताए।
हालसम्म करिब १० लाख भूमिहीनको लगत संकलन भइसकेको उनले जानकारी दिए। ‘जग्गा वितरणका लागि ४१ हजार हेक्टर नाप–नक्सांकन गरिएको छ। कानुनी जटिलता फुकाउन वन ऐन र भूमि ऐन संशोधन तथा राजस्वमा ५० प्रतिशत छुटको निर्णय तत्काल गरिँदै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘हरेक वर्ष राष्ट्रिय पर्वकै जस्तो पुरानै समयमा पुरानै माग लिएर उखु किसानले आन्दोलन गर्नुपर्ने बिडम्वनापूर्ण अवस्था अब अन्त्य भएको छ।

































