काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७९ र ८० को साउनदेखि चालू आवको असोजसम्ममा १ अर्ब ६३ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
नेपालबाट १५ महिनामाको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ। गत वर्षभरमा ७८ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएकोमा चालु आवको तीन महिनामै ८५ करोडभन्दा बढीको निर्यात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभरमा निर्यात भएको भन्दा बढी सिमेन्ट र क्लिंकर निर्यात भएको हो।
साउनदेखि असोजसम्मको तीन महिनामा नेपालबाट ४६ करोड ८९ लाख रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर र ३८ करोड ४० लाख रुपैयाँ बराबरको ६ लाख ९ हजार ४४८ टन सिमेन्ट निर्यात भएको छ ।
नेपालमा उत्पादित सिमेन्ट मध्यमा सर्वोत्तम सिमेन्ट एक्लैले ३१ करोडको सिमेन्ट निर्यात गरेको छ । साउन १५ गते भारतीय गुणस्तर चिह्न प्राप्त गरेको सर्वोत्तमले अढाई महिनामै ३१ करोडको सिमेन्ट भारतमा बेचेको हो ।
सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातको वातावरण बनेको हो । अनुदान पाउने पक्का भएपछि तानसेनले २०७९ असारमै निर्यात थालेको थियो । साउनदेखि अर्घाखाँचीले पनि निर्यात थालेको हो ।





































