काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारले संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार महासंघले एक विज्ञप्ति जारी गरी सो विधेयकको विरोधमा देशभरका सबै विद्यालय ठप्प पारी काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो ।
राज्यले फेरि एकपटक शिक्षक कर्मचारीलाई धोका दिएको जनाउँदै सरकारको यो कदमले शिक्षक कर्मचारीलाई आक्रोशित बनाएको महासंघले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ः ‘विधेयकको प्रस्तावित मस्यौंदामा सुझाव समावेश गर्ने प्रयोजनका लागि माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा माननीय शिक्षा मन्त्री, मुख्यसचिव, शिक्षा सचिव, कानुन सचिव र अर्थ सचिव लगायत रहेको कार्यदल र नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलबीच छलफल समेत भएको छ ।
महासंघले अब काठमाडौँ केन्द्रित सडक आन्दोलनमा जानुबाहेक कुनै विकल्प बाँकी नरहेको समेत बताएको छ ।
सो विधेयकले शिक्षक कर्मचारीका मागमुद्दा सम्बोधन नगरे काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने निर्णय यसअघि नै गरिसकेको उल्लेख गर्दै सोही निर्णय बमोजिम बिहीबार बस्ने महासंघको आन्दोलन परिचालन समितिको बैठकले सबै सरोकारवाल समूहबीचको छलफलबाट आन्दोलनको कार्यक्रम तालिका सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
महासंघले आन्दोलनका लागि तयारी अवस्थामा रहन आफूमातहतका सबै संघ–संस्थालाई आग्रह गरेको छ । सरकारले बुधबार नै विद्यालय शिक्षा विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो ।




































