काठमाडौं । काठमाडौं उपत्यकामा स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसनको काम अघि बढाइने भएकाे छ । उपत्यकाका सबै नगरपालिकाले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडान गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएका हुन् ।
काठमाडौंको टोखा नगरपालिकाका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडानको काम शुरू गर्ने निर्णय गरेको हो ।
उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले स्मार्ट सडकबत्ती, हाइमास्ट स्मार्ट सडकबत्ती र चार्जिङ स्टेशन जडानका लागि सबै नगरपालिका तयार भएको जानकारी दिए ।
फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाएर छलफल गरेको थियो । छलफलमा घिसिङले सडकबत्तीका एकमुष्ट टेण्डर गर्न सकिने बताएका थिए ।
कुलमानको प्रस्तावपछि नगरहरूले सोहीअनुसारको तयारी गरेका छन् । ‘धनगढीमा सडकबत्ती बल्यो कि बलेन भनेर काठमाडौंबाटै हेर्न मिल्ने अवस्था छ, यस्तो बेलामा राजधानी सहर नै अँध्यारोमा बस्न हुँदैन,’ उनले भने ।
घिसिङले सबै पालिकासँग सहकार्य गरी स्मार्ट सडक बत्ती जडानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशनको विषयमा समेत चर्चा भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठकमा विद्युतीय सवारीको माग र प्रयोग अत्यधिक बढिरहेकोले उपत्यकाको ठाउँ ठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताएका थिए ।
‘विद्युतीय गाडीको माग अत्यधिक बढेको छ , चार्जिङ स्टेसनका लागि पालिकाहरूले संयुक्त लगानी गर्न गर्नुहोस्,’ बैठकमा कुलमान घिसिङले भने ।

































