काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारत तथा बंगलादेशमा ऊर्जाको व्यापारका लागि आफ्नो चार दिने भारत भ्रमण महत्वपूर्ण रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेद्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण भएको बताए । उनले भेटमा व्यापार, पारवाहन, लगानी प्रबर्द्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, बाढी तथा डुवान नियन्त्रण, कृषि, सीमा वारपार, रेल्वे सेवा सञ्चालन कार्य, पुलहरुको निर्माण तथा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा सकारात्मक र अर्थपूर्ण छलफल भएको बताए ।
उनले नेपालले अर्को हवाई मार्ग र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने सम्बन्धमा भारतीय पक्षका बारेमा सकारात्मक कुरा भएको बताए ।
उनले विभिन्न जलविद्युत आयोजनामा लगानी भित्र्याउने, जलविद्युत आयोजनाका लागि ट्रान्समिसन लाइन निर्माण गर्ने तथा नेपालबाट ऊर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार निश्चित गर्ने विषयमा भ्रमणमा महत्वपूर्ण सहमति भएको बताए ।

































