काठमाडौँ। नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोड सेडिङ गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै तत्काल विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणसँग आग्रह गरेको छ ।
बिहीबार परिसंघले उद्योगहरूमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगीलाई प्रताडित पार्ने काम प्राधिकरणबाटै भएको भन्दै आपत्ति जनाएको छ ।
प्राधिकरणले लोडसेडिङ गराउँदा देशमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी व्यवसायीलाई शसंकित बनाइएको परिसंघले बताएको छ ।
नेपाल विद्युत् प्राधिकरणले केही समय अगाडि नेपालका उद्योगहरूमा लोडसेडिङ गराएर भारतमा विद्युत् निर्यात गरेको उल्लेख गर्दै परिसंघले उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा समेत गम्भीर असर परेको भन्दै प्राधिकरणबाटै उद्योगीलाई मर्माहत बनाउने कार्य भएको परिसंघले जनाएको छ ।
‘सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरूमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको छ’ जारी प्रेस नोटमा उल्लेख छ ।
यस्तै परिसंघले विद्युत् बचत हुँदा समेत उद्योगहरूमा नदिएको आरोप लगाउँदै प्राधिकरणलाई देशमा उद्योग सञ्चालन नर्गन आफूहरूलाई प्रेरित गरेको हो भन्दै प्रश्न गरेको छ ।


































