काठमाडौँ। कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा आपूर्ति संकट बढ्ने जोखिम बढेको छ। बुधबार इरानको पाँच मिसाइल प्रहारमध्ये एकले ठूलो क्षति पुर्याएको छ भने बाँकी चार मिसाइल कतारले रोक्न सफल भएको थियो।
इरान–कतार तनाव सुरु भएदेखि नै रास लाफानमा अस्थायी रुपमा उत्पादन रोकिने स्थिति रहेको थियो। तर, यस पटकको आक्रमणले उत्पादनमा थप ठूलो असर पर्ने र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।
बुधबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको थियो।
उर्जा अर्थशास्त्री किरिट पारिखले एनडिटिभीसँग भने, “भारतले आफ्नो ग्यास आवश्यकतामध्ये करिब ५० प्रतिशत अन्तर्राष्ट्रिय बजारबाट आयात गर्छ, जसमा झन्डै ४० प्रतिशत एलएनजी कतारबाट आउँछ। यसले औद्योगिक क्षेत्र र उर्जा उत्पादनलाई असर गर्नेछ।”
रास लाफान पर्सियन खाडीको किनारमा रहेको औद्योगिक शहर हो, राजधानी दोहाबाट करिब ८० किलोमिटर टाढा। यो शहरबाट प्रशोधन भएको एलएनजी जहाजमार्फत हर्मुज जलघाटी हुँदै विश्व बजारमा पुर्याइन्छ।
कतार इनर्जीले सरकारी स्वामित्वमा यस औद्योगिक क्षेत्रको सञ्चालन गर्छ। अलजजिराका अनुसार, रास लाफान विश्वकै प्रमुख लिक्विफाइड प्राकृतिक ग्यास ९एलएनजी० केन्द्र हो। यहाँ प्रशोधन, भण्डारण र ढुवानीका लागि आवश्यक पूर्वाधार विकसित गरिएको छ। अमेरिकापछि कतार एलएनजीको दोस्रो ठूलो निर्यातकर्ता हो।
विश्वको कुल एलएनजी खपतको करिब २० प्रतिशत उत्पादन यहीँबाट हुन्छ। यस ग्यासको प्रयोग औद्योगिक उत्पादन, बिजुली उत्पादन, घरेलु आवश्यकताका साथै ट्रक र जहाज चलाउन पनि गरिन्छ।
मार्चदेखि युद्ध सुरु भएपछि एलएनजी उत्पादन अस्थायी रूपमा रोकिएको थियो। हर्मुज जलघाटीमा इरानले अवरोध पुर्याउँदा तेल र ग्यासको निर्यातमा समस्या आएको थियो। जापान, दक्षिण कोरिया, पाकिस्तान, बंगलादेश, भारत, युरोप र अफ्रिकामा कतारको एलएनजी पुग्दो रहे पनि हाल अभावको अवस्था छ।
रास लाफानमा युनिया तथा एमोनिया रसायनिक मल उत्पादनका साथै सल्फर र हिलियम जस्ता अन्य ग्यास पनि उत्पादन हुन्छ। कतार इनर्जीका अनुसार, विश्वको हिलियमको करिब २५ प्रतिशत आपूर्ति यहीँबाट हुने गरेको छ।


































