National life

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
338Shares
कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती
ncell

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ। आइतबार बिहानैदेखि नदीले कटान गर्न थालेपछि उनले घरका सामान निकालेर सडकमा थुपारेका छन्। तर ती सामान बोकेर कहाँ जाने भन्ने टुङ्गो उनले अझै पाउन सकेका छैनन्।

“करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था रहेन,” सामान सार्दै गरेका गमबहादुरले भक्कानिँदै भने, “वैदेशिक रोजगारीबाट जोडेको एक रोपनीभन्दा बढी जग्गा र २० वर्षदेखि बस्दै आएको घर छाडेर हिँड्नुपरेको छ।”

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर कुनै समय पर्यटकीय तथा व्यापारिक केन्द्रजस्तै थियो।

Royal Enfield
nic asia capital
स्थानीय परिकारका लागि चर्चित यहाँका रेस्टुरेन्ट असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले उजाडिएका छन्।

अर्का रेस्टुरेन्ट व्यवसायी गोपाल भण्डारी पनि जीवनभरको कमाइले बनाएको घर छाड्न बाध्य छन्। नदीले धार परिवर्तन गरी खेलमैदानको ८० प्रतिशत भाग कटान गर्दै घरछेउबाट बग्न थालेको छ। “पचास मिटर टाढा बगिरहेको नदी एक्कासी बस्तीमा आउला भन्ने कल्पना पनि थिएन,” भण्डारीले भने।

तिल्केनीका चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङ दुई दशकदेखि गर्दै आएको व्यवसाय छाडेर गलेश्वर सरेका छन्। स्थानीय हरि चन्दका अनुसार घुमाउने तालनजिकै कालीगण्डकीले कटान गरेपछि मानिसहरू रातभर डाँडाका कुखुरा फार्ममा सुत्न थालेका छन्। बाढीले घुमाउने ताल र पर्वतको जलजला जोड्ने झोलुङ्गे पुल बगाएपछि खानेपानीको पाइपलाइन फुटेर खानेपानीको अभाव हुनुका साथै आवतजावत ठप्प बनेको छ।

बाढी र कटानका कारण गत सातादेखि परीक्षण उत्पादन सुरु गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द भएको छ। कालीगण्डकीले धार परिवर्तन गरेर टेलरेस र स्वीचयार्ड नजिकैबाट बग्न थालेपछि उत्पादन बन्द गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए। बाढीले बेनी–जोमसोम सडक खण्ड बगाउनुका साथै भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सका करिब २० वटा सवारीसाधन र उपकरण बगाएको छ।

यसैगरी कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गममा रहेको पवित्र राममन्दिर क्षेत्रसमेत जोखिममा परेको छ भने माथिबाट खसेको लेदो र पहिरोले राहुघाटका २१ घरपरिवार जोखिममा परेका छन्।

यो समाचार शेयर गर्नुहोस्
338SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?