काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज (मंसिर १९ गते) पुनः बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त रकम खिच्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
यसअघि बैंकले मंसिर २ गते ५० अर्ब, ५ गते ४० अर्ब, ९ गते ५० अर्ब, १२ गते १०० अर्ब, १६ गते ५० अर्ब तरलता खिचेको थियो ।


































