काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज बजारबाट ७० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम खिच्ने भएको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो। जसको साँवा तथा ब्याज भुक्तानी माघ ६ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने छन् ।

































