काठमाडौं । विनाशकारी भोटेकाशी बाढीपछि गत बुधबारदेखि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाख भन्दाबढी प्रभावित क्षेत्रका ग्राहकहरुले पाएका छन् । कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।
बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकहरू निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कम्पनीले सुरुमा बुधबारदेखि तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराएको थियो भने पछि सेवा अवधि शनिबारदेखि थप सात दिनका लागि बढाएको थियो।
कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य आइतबारसम्ममा रु. १ करोडभन्दा बढी रहेको छ। अहिले डाउन रहेका मोबाइल टावरको संख्या क्रमशः घट्दै गएसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ।
विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पु¥याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए। कम्पनीले आइतबारसम्ममा प्रभावित २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याएको छ। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेका एक वटा र नुवाकोटको त्रिशूली, बिदुरस्थित रहेको एउटा टावर भौतिक रूपमा क्षति पुगेको आशंका गरिएको छ।
यसैबीच, संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजार भन्दाबढी ग्राहकहरुलाई कुनै कारणले ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ् र इनकमिङ् दुवै सेवा बन्द अवस्थामा रहेका सिमहरूलाई समेत सेवाहरु पुनः सक्रिय गरिदिएको छ । यसले थुप्रै ग्राहकहरुलाई अहिलेको आपतकालीन अवस्थामा सञ्चार सेवा सहज बनेको छ । यी ग्राहकहरूले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क सेवाको सुविधा पाएका छन् ।
यसबाट विपद्को यस कठिन समयमा उनीहरू आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन् ।


































