काठमाडौँ । त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युतको प्रिमियम महसुलको बक्यौता रकम भुक्तानी गरेको छ।
नेपाल विद्युत प्राधिकरणको अनुसार, बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित कम्पनीले पहिलो किस्ता तिरेपछि कार्तिक ४ मा विच्छेद गरिएको विद्युत लाइन बिहीबार साँझ पुनः जडान गरिएको छ।
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता भुक्तानी गरेको हो। कम्पनीको कुल बक्यौता रकम ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ रहेको थियो।
बक्यौता रकम २८ किस्तामा विभाजन गरिएको छ भने पहिलो किस्ता अन्तर्गत कम्पनीले १५ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ। प्राधिकरणले यस किस्ता भुक्तानीपछि कम्पनीको विद्युत आपूर्ति नियमित भएको जनाएको छ।






































