काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०५.८५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी पपनि ६६.२९ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीबाट १ अर्ब ७२ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले बिक्रीमार्फत् १ अर्ब ३ करोड रुपैयाँ कमाएको थियो ।
कम्पनीले यो अवधिमा १३ करोड ९४ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ९५ करोड ६५ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले चालू आवसम्म ६४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।
५ अर्ब ४५ करोड रुपैयाँबराबरको चुक्ता पूँजी भएको कम्पनीले शेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ८७ करोड रुपैयाँको व्यवस्था गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ५७ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २०३ रुपैयाँ ८७ पैसा र तरलता अनुपात १.८० प्रतिशत कायम भएको छ ।


































