National life

काठमाडौंमा ग्यास अभाव घट्दै, नियमित आपूर्ति सुरु

काठमाडौंमा ग्यास अभावको मुख्य कारण बाटो अवरोध, आपूर्ति सहज बन्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
387Shares
काठमाडौंमा ग्यास अभाव घट्दै, नियमित आपूर्ति सुरु
ncell

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको अभाव क्रमशः सहज बन्दै गएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार ग्यास लोडिङमा कुनै समस्या नरहेको भए पनि भोटेकोशी बाढी र त्यसपछि सडकमा आएको अवरोधका कारण उपत्यकामा ग्यासको नियमित आपूर्ति प्रभावित भएको हो।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको मागअनुसार आपूर्ति भइरहेको दाबी गर्दै बाटो अवरुद्ध नभए उपत्यकामा ग्यासको समस्या नरहने बताएका छन्।

आर्थिक भ्वाइससँगको कुराकानीमा ठाकुरले उपत्यकाको दैनिक खपतभन्दा बढी ग्यास उपलब्ध गराउँदै आएको जानकारी दिए।

Royal Enfield
nic asia capital
उनका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४५ हजार सिलिण्डर बराबरको माग हुने गरेको भए पनि पछिल्लो समय ५५ हजारदेखि ५८ हजारसम्मको आपूर्ति भइरहेको छ।

‘ग्यास लोडिङमा कुनै समस्या छैन। हाम्रो खपत दैनिक ४५ हजार हो, तर ५५–५८ हजारसम्म दिइरहेका छौं,’ ठाकुरले भने।

बाढीपछि सडक अवरोधले आपूर्ति प्रभावित

निगमका अनुसार काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रभावित हुनुको मुख्य कारण ग्यास उत्पादन वा लोडिङ नभई ढुवानी गर्ने सडकमा आएको अवरोध हो।

भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण करिब १७–१८ दिनसम्म ग्यास ढुवानीमा समस्या भएको थियो। त्यसपछि पनि सडकमा पुनः ३–४ दिन अवरोध हुँदा नियमित आपूर्ति प्रभावित भएको ठाकुरले बताए।

‘भोटेकोशी बाढीले १७–१८ दिन अवरोध भयो, फेरि अहिले ३–४ दिन डिस्टर्ब भयो। मुख्य कुरा बाटोले गर्दा हो,’ उनले भने।

सडक अवरोधका कारण उद्योगबाट ग्यास लोड भएर पनि बजारसम्म नियमित रूपमा पुर्‍याउन कठिन भएको निगमको भनाइ छ। बाटो सहज भएपछि बुलेटहरू नियमित रूपमा आउन थालेका कारण आपूर्ति पनि सामान्य अवस्थामा फर्किन थालेको ठाकुरले बताए।

दैनिक खपतभन्दा बढी ग्यास दिइँदै

ठाकुरका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ३५ हजारदेखि ४० हजार सिलिण्डर ग्यास खपत हुने गरेको छ। सामान्य अवस्थामा बाटो अवरोध नहुँदा बजारमा दैनिक ४५ हजारदेखि ५५ हजार सिलिण्डरसम्म पठाउने गरिएको उनले जानकारी दिए।

तर सडक अवरोध भएको समयमा बजारमा जाने सिलिण्डरको संख्या घटेर करिब १७ हजारदेखि १८ हजारमा सीमित भएको थियो।

‘काठमाडौं उपत्यकामा दैनिक ३५–४० हजार सिलिण्डर खपत हो। बाटो अवरुद्ध नहुँदा ४५–५५ हजार सिलिण्डर बजारमा गइरहेको थियो। बाटो बिग्रिँदा १७–१८ हजार सिलिण्डर मात्रै गइरहेको थियो,’ ठाकुरले भने।

यसले गर्दा केही दिन बजारमा ग्यासको माग र आपूर्तिबीच ठूलो अन्तर देखिएको थियो। अहिले सडकको अवस्था सुधार हुँदै गएसँगै आपूर्ति पनि नियमित हुने क्रममा रहेको निगमले जनाएको छ।

मासिक मागभन्दा बढी ग्यास आयात

निगमका अनुसार नेपालमा ग्यासको मासिक माग करिब ४५ हजारदेखि ४६ हजार मेट्रिक टन रहेको छ। तर पछिल्ला महिनामा मागभन्दा बढी परिमाणमा ग्यास आएको निगमले जनाएको छ।

ठाकुरका अनुसार भदौमा करिब ५७ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको थियो। असोजमा पनि करिब ५६ हजारदेखि ५७ हजार मेट्रिक टन ग्यास आउने अनुमान गरिएको छ।

यसले ग्यासको समग्र उपलब्धतामा समस्या नरहेको निगमको दाबी छ। तर आयात भएको ग्यासलाई उद्योगबाट डिलर हुँदै उपभोक्तासम्म पुर्‍याउने क्रममा सडक अवरोध हुँदा केही क्षेत्रमा अभाव देखिएको हो।

माग एक्कासि बढ्दा डिलरमा पनि चाप

निगमले ग्यास अभाव देखिनुको अर्को कारण उपभोक्ताले एकैपटक ठूलो परिमाणमा ग्यास माग गर्नु पनि रहेको जनाएको छ।

सामान्य अवस्थामा कुनै डिलरले एक महिनामा करिब १०० सिलिण्डर बिक्री गर्दै आएको भए सडक अवरोधपछि बजारमा अभावको हल्ला र वास्तविक आवश्यकताका कारण उसले दुई दिनमै ठूलो परिमाण बिक्री गर्नुपर्ने अवस्था आएको ठाकुरले बताए।

‘कुनै डिलरले महिनामा १०० वटा सिलिण्डर बेच्थ्यो भने अहिले बजारको माग एक्कासि बढ्यो र उसले दुई दिनमै बेचेर सिध्यायो। अब फेरि उसले तुरुन्तै १०० वटा सिलिण्डर पाउँदैन। त्यसले समस्या भएको हो,’ उनले भने।

यसरी नियमित खपतको तुलनामा एकैपटक माग बढ्दा डिलरको मौज्दात सकिने र नयाँ सिलिण्डर आउन केही समय लाग्ने भएकाले उपभोक्ताले ग्यास नपाएको अवस्था देखिएको निगमको भनाइ छ।

ग्यास नपाए निगममा गुनासो गर्न आग्रह

नेपाल आयल निगमले डिलरसँग ग्यास उपलब्ध नभएमा उपभोक्तालाई गुनासो गर्न आग्रह गरेको छ। निगमका अनुसार उपभोक्ताबाट गुनासो आएपछि समस्यामा रहेका डिलरको सूची तयार गरी सम्बन्धित उद्योगलाई पठाइनेछ।

उद्योगले त्यसपछि सम्बन्धित डिलरमार्फत ग्यास आपूर्ति गरी समस्या समाधान गर्ने व्यवस्था मिलाउने ठाकुरले बताए।

‘डिलरसँग ग्यास छैन तर उपभोक्तालाई आवश्यक पर्यो भने कम्प्लेन आएको खण्डमा लिस्ट बनाएर हामी उद्योगलाई दिन्छौं। त्यसपछि सम्बन्धित डिलरबाट समस्याको समाधान गरिन्छ,’ उनले भने।

दशैं नजिकिँदै गर्दा आपूर्ति थप सहज हुने अपेक्षा

निगमले दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा ग्यासको चापसमेत केही घट्ने अपेक्षा गरेको छ। सडकको अवस्था सामान्य रहेमा नियमित रूपमा ग्यासका बुलेट आउने र बजारमा आपूर्ति पनि सहज हुने निगमको भनाइ छ।

ठाकुरले अहिले उपत्यकामा ग्यास आपूर्ति सहजतातर्फ अघि बढिरहेको बताएका छन्।

‘केही दिन अगाडि जताततै ग्यास अभाव भनेर सुनिन्थ्यो। बाटोले डिस्टर्ब गरेन भने हामी सहजतातर्फ नै छौं। नियमित बुलेट आउन थालेपछि अब समस्या हुँदैन,’ उनले भने।

निगमका अनुसार अहिलेको समस्या ग्यास उत्पादन, लोडिङ वा आयातमा भन्दा मुख्यतः ढुवानी मार्गमा आएको अवरोध र एकैपटक बढेको बजार मागसँग सम्बन्धित छ। सडक पूर्ण रूपमा सहज भएसँगै उद्योगबाट डिलर र डिलरबाट उपभोक्तासम्म ग्यासको आपूर्ति नियमित हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
387SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?