काठमाडौं । ग्यास उद्योगबाट भइरहेको प्रत्यक्ष खुद्रा बिक्री तत्काल रोक्न ग्यास बिक्रेता महासंघ नेपालले माग गरेको छ। महासंघले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै ग्यासको बिक्री–वितरण डिलरमार्फत मात्रै गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
उद्योगहरूले आफैं उपभोक्तालाई ग्यास बिक्री गर्दा बजार व्यवस्थापन प्रभावित भएको महासंघको भनाइ छ। बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेको अवस्थामा समेत ग्यास अभाव देखिन थालेको भन्दै महासंघले उद्योगबाट हुने खुद्रा बिक्रीप्रति आपत्ति जनाएको छ।
महासंघका अनुसार ग्यास उद्योगहरूले नयाँ सिलिन्डरसमेत २,५०० देखि २,७०० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। उद्योगबाट प्रत्यक्ष बिक्री भइरहँदा बजारमा मूल्य तथा आपूर्ति व्यवस्थापन थप जटिल बन्ने महासंघको दाबी छ।
यस्तो अवस्था देखिँदा पनि निगम तथा सरकारी निकायबाट प्रभावकारी कदम नचालिएको भन्दै महासंघले उद्योगी, निगम र सम्बन्धित सरकारी निकायको कार्यशैलीप्रति प्रश्न उठाएको छ। ग्यास बिक्री वितरण प्रणालीलाई व्यवस्थित बनाउन डिलरमार्फत मात्रै बिक्री गर्ने व्यवस्था लागू गर्नुपर्ने महासंघको माग छ।





























