काठमाडौँ । दूध विकास संस्थान ले दूध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई आफ्नो कारोबारलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित संस्थासँग समन्वयमा आउन आग्रह गरेको छ।
संस्थानले सार्वजनिक गरेको सूचनामा विगत करिब पाँच दशकदेखि देशभरका सहकारी संस्था र निजी फार्ममार्फत उत्पादित दूध संकलन गर्दै आएको उल्लेख गरिएको छ। विभिन्न चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि किसान, सहकारी र निजी क्षेत्रले निरन्तर दूध आपूर्ति गर्दै आएकोप्रति संस्थानले धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा संस्थान र सहकारी/फर्मबीचको सहकार्य अझ मजबुत बनाउँदै दूध क्षेत्रको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
संस्थानले आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई अझ प्रविधिमैत्री, पारदर्शी र दीगो बनाउने योजना अघि सारेको जनाएको छ। यही उद्देश्यअनुसार हाल संस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका दूध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई आफ्नो विवरण अद्यावधिक गर्न र सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरिएको हो।
सूचनाअनुसार इच्छुक सहकारी तथा निजी फार्महरूले २०८३ साल साउन मसान्तभित्र आफू नजिकको संस्थानको आयोजना, चिस्यान केन्द्र वा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। यस प्रक्रियामार्फत संस्थानसँग आबद्ध भई कारोबारलाई थप व्यवस्थित बनाउने लक्ष्य लिइएको जनाइएको छ।
संस्थानले हालसम्म आफूहरूसँग आबद्ध नभएका तर दूध उत्पादन तथा संकलनमा सक्रिय सहकारी र निजी फार्महरूलाई समेत विवरण उपलब्ध गराउन आग्रह गरेको छ। यसबाट देशभरको दूध आपूर्ति प्रणालीलाई एकीकृत गर्दै गुणस्तर र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
यससम्बन्धी थप जानकारीका लागि संस्थानले केन्द्रीय कार्यालय लैनचौरमार्फत सम्पर्क गर्न सकिने जनाएको छ।


































