काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा करिब ४.४३ गुणाले बढेको छ ।
नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) पनि सुधार भएको छ । पहिलो त्रैमासमा कम्पनीको वार्षिकीकरण गरिएको इपीएस ६२ रुपैयाँ ९७ पैसा पुगेको छ । गत आर्थिक वर्षमा यस्तो इपीएस ४२ रुपैयाँ ९८ पैसा थियो । समीक्षा अवधिको नाफालाई हाल कायम सेयर संख्याका आधारमा गणना गर्दा त्रैमासिक इपीएस करिब १६ रुपैयाँ देखिन्छ ।
कम्पनीको सञ्चालन आम्दानीसमेत बढेको छ । पहिलो त्रैमासमा रिलायन्सले ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ थियो । यसअनुसार सञ्चालन आम्दानी करिब २९ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नाफा १६ करोड ९१ लाख रुपैयाँ मात्र थियो । बिक्री तथा सञ्चालन आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र नाफा बढाउन सहयोग गरेको देखिन्छ ।
रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांशसमेत वितरण गरेको छ । कम्पनीको १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिएको हो ।
गत असोजमा सम्पन्न कम्पनीको साधारणसभाले व्यवसाय विस्तारसम्बन्धी प्रस्ताव पनि पारित गरेको थियो । कम्पनीले अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना गरी अल्लो, हेम्प, केरा लगायतका प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्ने योजना अघि सारेको छ ।
यसका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाई गर्ने व्यवसायमा समेत प्रवेश गर्ने कम्पनीको तयारी छ । यसलाई कम्पनीको व्यवसाय विविधीकरण तथा उत्पादन विस्तारको योजनाका रूपमा हेरिएको छ ।
तीन दशकअघि स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सका सुनसरीमा धागो उत्पादन गर्ने कारखाना छन् । कम्पनीमा ४ हजारभन्दा बढी कामदार कार्यरत छन् भने वार्षिक ५० मिलियन अमेरिकी डलर बराबरको निर्यात गर्दै आएको छ । कम्पनी गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो ।































