काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरुङमार्ग सञ्चालनमा आएदेखि लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको हो।
ट्राफिक प्रहरीका अनुसार सुरुङमार्गभित्र सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। तोकिएको गति उल्लङ्घन गर्ने चालकलाई समेत कारबाहीको दायरामा ल्याइएको कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बताए।
सुरुङभित्र स्टन्ट गर्ने, गलत तरिकाले ओभरटेक गर्ने तथा अनावश्यक हर्न बजाउनेजस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आपत्कालीन अवस्थामा उद्धार कार्यसमेत प्रभावित पार्न सक्ने प्रहरीले जनाएको छ।
यसैबीच, आज मात्रै १३ जना चालक ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाहीमा परेका छन्। नागढुङ्गास्थित ट्राफिक प्रहरीको टोलीले उनीहरूलाई कारबाही गरेको हो।
प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा निर्धारित गति पालना गर्न, लेन अनुशासन कायम राख्न, अनावश्यक हर्न नबजाउन तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन चालकलाई आग्रह गरेको छ।


































