काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न खण्डमा मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्म संकलन गरेको विवरण अनुसार कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही क्षेत्रमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालन गरिएको छ ।
बागमती प्रदेशअन्तर्गत बि.पी.
यस्तै, रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द भएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोलास्थित टोखा-छहरे सडकखण्डमा बाढी–पहिरोको जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने विदुर-१० सिमटारस्थित पसाङ ल्हामु सडकखण्ड बाढीले पूर्ण अवरुद्ध छ । धादिङको बेनीघाट रोराङस्थित जवाङखोला र शीतल बजार खण्डमा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेशको मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ झोलुङ्गेपुल नजिक खसेको पहिरो हटाई यातायात एकतर्फी खुलाइएको छ ।
उता गण्डकी प्रदेशमा पर्ने चामे-बेंसीसहर सडकखण्डको नासों गाउँपालिका-३ खोत्रोमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प बनेको छ । त्यस्तै कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली कोरिडोरको सर्केगाड–६ खरीखेतमा पहिरो खस्दा आवतजावत पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ ।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको जनाउँदै जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा स्थानीय प्रशासन वा प्रहरीसँग सडकको पछिल्लो अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

































