काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल सम्वत् ११४५ को शुभअवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज प्राधिकरणको केन्द्रीय कार्यालय, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा शुभकामना दिनुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै सिलवालले भने, “बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको छ, क्षतिको बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भनेर प्रमाणित गर्ने बेला हो यो, कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्छ ।”
हालैको बाढी तथा पहिरोबाट कृषिक्षेत्र बाहेक सडक र पुलमा मात्रै २७ अर्ब रूपियाँभन्दा बढी क्षति भएको उल्लेख गर्दै सिलवालले भने,“सरकारले पूर्वाधारमा लगानी मात्र गर्ने होइन, बीमा मार्फत लगानीको सुरक्षण समेत गर्नु आवश्यक छ, क्षति भएका स्थानमा नयाँ सडक तथा पुल बनाउनुपर्ने हुन्छ, बीमा नगरेका कारण तिनको निर्माणमा सरकारले थप लगानी गर्नुपर्ने हुन्छ, यसलाई ध्यानमा राखेर सबै संरचनाको बीमा गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।”
यस्तै जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने अध्यक्ष सिलवालको भनाई छ ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै बीमा कम्पनीहरू परम्परागत रूपमा नभई नयाँ संस्करणका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र लघु बीमक संघका अध्यक्ष, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


































