काठमाडौँ । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार ओरिएण्टल इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ । कुल बीमाशुल्क आर्जन र नाफा दुवै घटेको देखिए पनि खुद बीमाशुल्क आर्जनमा भने वृद्धि भएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कम्पनीले १३ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
पहिलो तीन महिनामा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ओरिएण्टलले ५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । यो पल्ट नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
गत आर्थिक वर्षको तथ्याकंलाई हेर्दा सोही अवधिमा कम्पनीले २९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आर्जन समेत घटेको छ।
समाचार तयार गर्दाको समयसम्म कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ७९ लाख रुपैयाँ खर्चिएको छ । गएको आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ४८ लाख खर्चिएको थियो ।
अभिकर्ता कमिशनतर्फ कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । २५ करोड ११ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महाविपद जगेडा कोषमा ५ करोड ६९ लाख रुपैयाँ छ । अन्य इक्विटीमा १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ छ ।





































