काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म बीमा व्यवसाय विस्तार गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चुक्ता पुँजी, बीमा कोष र खुद बीमाशुल्क आर्जन बढेका छन् ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ थियो।
त्यस्तै, कम्पनीको बीमा कोष ६.२७ प्रतिशतले वृद्धि भई ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोष ४ अर्ब १० करोड ४७ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले गत आर्थिक वर्षमा ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको ७६ करोड ४२ लाख रुपैयाँको तुलनामा करिब ९ प्रतिशत बढी हो।
तर, व्यवसाय विस्तारसँगै दाबी भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको छ। कम्पनीले समीक्षा अवधिमा १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो भुक्तानी १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ थियो।
सम्भावित जोखिम व्यवस्थापनका लागि कम्पनीले महाविपत्ति कोष पनि बढाएको छ। यस्तो कोष १४.१५ प्रतिशतले वृद्धि भएर ५ करोड २४ लाख रुपैयाँ पुगेको छ।
यता, दाबी भुक्तानी र अन्य खर्चमा भएको वृद्धिको असर कम्पनीको नाफामा परेको छ। कम्पनीले गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३३ करोड ६७ लाख रुपैयाँको तुलनामा ६१.३९ प्रतिशत कम हो।
कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा कायम भएको छ। कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ५.८५ प्रतिशत रहेको छ।
यसैगरी, कम्पनीले विभिन्न क्षेत्रमा गरी कुल ३ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।
समग्रमा कम्पनीको बीमा व्यवसाय र बीमा कोषमा वृद्धि देखिए पनि दाबी भुक्तानी तथा खर्चमा भएको उच्च वृद्धिले नाफामा दबाब सिर्जना गरेको देखिन्छ।



































