काठमाडौं । अन्य क्षेत्रहरूमा जस्तै बीमा क्षेत्रमा पनि विभिन्न किसिमका चुनौतीहरू विद्यमान छन् । बीमा क्षेत्रमा वित्तीय साक्षरताको कमी तथा बीमा पोलिसि सरेण्डर, दाबी भुक्तानी लगायतका धेरै समस्याहरू नेपालको बीमा क्षेत्रमा रहेका छन् ।
यसका साथै थोरै मात्र आम्दानी भएका व्यक्तिहरूलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउन र बीमा सरेन्डरको अनुपातलाई पनि कम गर्दै अगाडी बढ्ने उद्देश्य पनि बीमा दोकानले लिएको छ । ग्राहकहरूमाझ सरल र सहज ढङ्गबाट बीमा पोलिसीहरु र्पुयाउनको लागि उत्कृष्ट सेवाका साथ बीमा दोकानले काम गरिरहेको छ ।
एग्रिगेटरको कन्सेप्टमा स्थापित नेपालकै पहिलो कम्पनी
श्रेष्ठले हामीसँग कुराकानी गर्दै भने, ‘भारतमा सञ्चालित कम्पनी ‘पोलिसि बजार डटकम’ ले बीमा एग्रिगेटरको काम गरिरहेको छ । नेपालमा एग्रिगेटरलाई लाइसेन्स दिने व्यवस्था छैन । तर हाम्रो पनि खास कन्सेप्ट त्यही नै हो । हामीले ग्राहकहरूलाई यो वा त्यो कम्पनीको नभनी स्वतन्त्र रूपमा ग्राहकहरूको आवश्यकता र क्षमतालाई बुझेर सबै बीमा कम्पनीहरूको पोलिसि छनोट गरेर खरिद गराउँछौ । यस्तै विभिन्न क्याम्पेनिङहरु सञ्चालन गरी बीमा कम्पनीहरूले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्कको विश्लेषण गरी बीमाभित्र पर्ने जीवन तथा निर्जीवन बीमाका सम्पुर्ण पोलिसीहरु ग्राहकलाई किन्नका लागि सुझाव समेत दिने गर्छौ ।’
बीमामा समेत ईएमआई सेवा
बीमाको पहुँचमा नभएका व्यक्ति, परिवार र समुदायलाई बीमासँग जोड्नका लागि गत असार १ गतेबाट यो कम्पनीले ईएमआई मार्फत पनि बीमा गर्न सकिने सुविधा ल्याएको हो । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सेवा प्रदान गर्ने कम्पनीले ईएमआई सुविधा दिन सुरु गरेको कम्पनीका अधिकृत श्रेष्ठले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा सुनाए ।
‘हामीले भर्खरै मात्र बीमा क्षेत्रमै पहिलो पटक इएमआई मार्फत पनि बीमा गर्न सकिने सुविधा ल्याएका छौँ । प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुरका कम आय भएका र पिछडिएका समुदायका लागि हामीले यस्तो व्यवस्था गरेका हौँ ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भने ।
बीमालाई गाँस, बास र कपास पछिको आवश्यकताका रूपमा विकास गराउँदै यसबाट वञ्चित रहेका वर्गलाई बीमाको दायरामा ल्याउनका लागि काम गरिरहेको बीमा दोकानले बीमा जबरजस्ती नभई मानिसको आवश्यकता र आम्दानी अनुरूप विकास गर्न खोजिरहेको उनको भनाई छ ।
त्यस्तै, स–सानो आम्दानी भएका व्यक्तिलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउनुका साथै बीमा सरेन्डर रेसियोलाई पनि न्यूनीकरण गराउने लक्ष्य समेत दोकानले लिएको छ ।
बीमा दोकान र अन्य अभिकर्ताहरूमा फरक
‘नेपालको बीमा क्षेत्रमा अभिकर्ताहरूको योगदान अमूल्य छ । तर पनि अधिकांश अभिकर्ताहरूले बेच्ने पोलिसीहरु भनेको रिलेसनको कारणले बेच्ने गरेको र बीमा पोलिसि रिलेसनको कारणले मात्र नभई बुझेर गर्नुपर्ने भएकोले हामी रिलेसनहरूभन्दा थोरै माथि उठेर ग्राहकहरूलाई उनीहरूको आवश्यकता र आम्दानी अनुसारका बीमा पोलिसीहरु प्रदान गराउँछौ । जसको कारण पोलिसि सरेण्डरको अनुपात घटाउन सहयोग र्पुयाउने विश्वास लिएका छौ ।’ उनले अगाडी थपे,‘हामीले कभरेजलाई बढी महत्त्व दिने गर्छौ रिटर्नलाई होइन । ग्राहकलाई चाहिने खालको कभरेज हामीले उहाँहरूलाई प्रदान गछौं ।’
यसका साथै बीमा दोकानले बीमा क्षेत्रमा रहेका पोलिसि सरेण्डर लगायतका समस्याका विषयमा पनि विगत लामो समय देखि अध्ययन गर्दै आएको छ । सन २०१९ जनवरी २ देखि स्थापित भएको यो कम्पनीले अनलाइनका साथै भौतिक रूपमै पनि जनशक्ति परिचालन गरेर पोलिसि बेच्ने र बीमा सम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
नेपाल भरी नै आफ्नो सञ्जालमार्फत सेवा दिने यो कम्पनीले हालसम्म एक हजार बढी पोलिसि बेचिसकेको छ भने काठमाडौं उपत्यकामा मात्र सीमित रहेको ईएमआईमा समेत बीमा गर्न सकिने सेवालाई पनि देशभरमा बिस्तार गर्ने तयारी पनि गरिरहेको छ ।


































