काठमाडौं । नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा नोभेम्बर २९ र ३० मा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ हुन लागेको हो। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
लक्जेम्बर्गस्थित डबलट्री बाई हिल्टन होटलमा आयोजना हुने सम्मेलन बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावासको संरक्षणमा हुन लागेको हो।
सम्मेलनमा प्रतिनिधिसभा सदस्य मनिष झा, नेपाली राजदूत सेवा लम्साल, युरोपेली लगानी बैंकका प्रतिनिधि एडभार्डस बुम्स्टाइनस तथा युरोपेली संघको बाह्य कार्य सेवाका प्रतिनिधिसहित नेपाल र युरोपका व्यवसायी, लगानीकर्ता तथा विज्ञहरूको सहभागिता रहनेछ। नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ।
‘नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा पाँच प्रमुख विषयमा छलफल हुनेछ। व्यापार तथा लगानी, सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन र व्यावसायिक सहकार्य सम्मेलनका मुख्य विषय रहनेछन्। युवा उद्यमशीलता तथा आईटी नवप्रवर्तनसम्बन्धी सत्रको नेतृत्व चिरन खवासले गर्नेछन्।
सम्मेलनमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल ज्ञान साझेदार, जेनेस सोलुसन प्रविधि साझेदार, निर्यात उद्यमी महासंघ नेपाल महासंघ साझेदार, युरोपियन इकोनोमिक चेम्बर नेपाल आर्थिक साझेदार तथा काठमाडौं–नेपालको स्वाद कार्यक्रम साझेदारका रूपमा सहभागी छन्।
आयोजकका अनुसार सम्मेलनले नेपाली उत्पादनको युरोपेली बजारमा पहुँच विस्तार, प्रविधि तथा लगानी साझेदारी, पर्यटन प्रवर्द्धन र नेपाली तथा युरोपेली व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापना गर्न प्राथमिकता दिनेछ।
नेबा युरोपका अध्यक्ष याम निरौलाले सम्मेलनलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ठोस व्यावसायिक सहकार्य र दीर्घकालीन साझेदारीको आधार बनाउने लक्ष्य रहेको बताए।
त्यस्तै, कार्यक्रम संयोजक हरि खत्रीले अतिथि व्यवस्थापन र विषयगत सत्रहरूको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
संघका सचिव मदन दवाडीका अनुसार सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्ष समेटेर ‘नेपाल–युरोप सेमिनार रिजोलुसन एन्ड पोलिसी रेफरेन्स डकुमेन्ट २०२६’ तयार गरिनेछ। उक्त दस्तावेजले आगामी दिनमा नेपाल र युरोपबीच व्यापार, लगानी तथा संस्थागत सहकार्यलाई निरन्तरता दिन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।


































