काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा कर लाग्ने/नलाग्ने विवाद समाधान हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असूल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो । तर, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले महालेखाको परिक्षकको प्रतिवेदनको उठाएका विषय वेवास्ता गर्दै आएका थिए ।
राष्ट्र बैंकका गभर्नर समेत भइसकेका डा. खतिवडा बाम गठबन्धन सरकारको अर्थमन्त्री थिए । खतिवडाले महालेखाको प्रतिवेदनले उठाएको विषय गलत भएको भन्दै न प्रतिवाद गरे र एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर उठाउने प्रक्रिया सुरु गरे । महालेखाले प्रतिवेदन सार्वजनिक गरेपछि २०७८ सालमा बजेट सार्वजनिक गरेका खतिवडाले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा कुनै निणर्य दिन सकेनन् ।
महालेखाले ५८औं वार्षिक प्रतिवेदनमा समेत एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा सरकराले कर उठाउन नसकेको विषय उठायो ।
‘कतिपय बैंकले नाफा नोक्सान खातामा नै देखाएको अवस्था छ । बिजनेस कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले उपर्युक्त बमोजिम लाभ देखाई आयकर तिर्नुपर्नेमा सो नगरेकोले ती वाणिज्य बैंकहरूको लाभ १४ अर्ब ९३ करोड ३ लाख रुपैयाँमा आयकर ऐन २०५८, अनुसूची १ को दफा २ को उपदफा (२) बमोजिम ३० प्रतिशतले हुने कर ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँमा शुल्क एवं ब्याजसमेत छानबिन गरी कर निर्धारण हुनुपर्दछ’ महालेखाको ५८ औं प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाले ५८ औं प्रतिवेदन सार्वजनिक गर्दा अर्थमन्त्रालयको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका थिए ।
पौडेलले पनि एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लाग्ने/नलाग्ने भन्ने विषयमा कुनै निणर्य दिन सकेनन् ।
महालेखाको ५९ औं प्रतिवेदनले पनि एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर उठाउन सरकारलाई निर्देशन दियो ।
त्यसैगरि महालेखाको ६० औं प्रतिवेदनमा सरकारले कर उठाउनु पर्ने विषय उठाईएको छ । महालेखाले लगातार ४ वटा प्रतिवेदनमा कर उठाउनु पर्ने विषय उठाएपछि अर्थमन्त्री प्रकास शरण महतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मंसिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरे ।
सरकारले समयमै निणर्य नदिएकाले अर्बांैं रकम शुल्क र जरिवानाको दायित्वमा परेका संगठित संस्थालाई छुट दिने घोषणा डा. महतले आर्थिक ऐन मार्फत गरेका थिए । तर उक्त शुल्क र जरिवानामा छुट दिने निणर्य गर्दा संविधान विपरित सरकारले कर लगाउने खोजेको भन्दै अर्थमन्त्रीले गरेको निणर्य विरुद्ध बाणिज्य बैंकहरु सर्वोच्च अदालत पुगेका थिए । सरकारले भूतप्रभावी भएर राफसाफ भइसकेको विषयमा समेत कर लगाएको भन्दै बैंकरहरुले दाबी गर्दै आएका थिए ।
तर, बिहीबार सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंक तथा बीमा कम्पनीले भूतप्रभावी कानुन बनाइ कर लगाउन खोजेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट खारेज गरेको छ ।
बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।
३ जना पूर्व अर्थमन्त्रीले कुनै निणर्य नगर्दा राज्यले गुमाएको करिब २० अर्ब राजस्व अर्थमन्त्री डा. महतको निणर्यले राज्य कोषमा आउन लागेको छ । अर्थमन्त्री महतले छुट दिने निणर्य नगरेर विगतका अर्थमन्त्री जस्तै मौन बसेको भए संवैधानिक निकायले प्रश्न उठाउने र सरकारले नटेर्ने प्रकृति बढ्दै जाने थियो । तर, अर्थमन्त्री महतले संवैधानिक आयोगले उठाएको विषयलाई महत्वका साथ समाधान गर्दै राज्य कोषमा अर्बौं रकम जम्मा गरेका छन् । अर्थमन्त्री महतले नै विभिन्न सार्वजनिक कार्यक्रममा संबैधानिक निकायले प्रश्न उठाएपछि सरकारले कर लिने नीति लिएको बताउँदै आएका थिए । यस्तै, मन्त्री महतले बजेट संशोधन गरेर ब्याक हुने संभावना नरहेको र बैंकरहरुलाई अदालत जान सार्वजनिकरुपमै सुझाब दिँदै आएका थिए ।
मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ । यसकारण कम्पनीहरूलाई आजसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने छ । मंसिर मसान्तभित्र कर तिर्दा मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभको आधारमा मात्रै कर तिरे पुग्छ । ब्याज र जरिवाना तिर्नु पर्दैन । शुक्रबार मात्रै ठूला करदाता कार्यालयले ३० करदाताबाट ११ अर्ब ३ करोड रुपैयाँ सकंलन गरिसकेको छ । शनिबार पनि करिब ८ अर्ब रुपैयाँ संकलन हुने कार्यालयको अनुमान छ ।


































