काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा घाइतेको उद्धार र उपचारका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री विपद् राहत कोषमा उक्त रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
कम्पनीले विपद्का कारण विस्थापित परिवारलाई राहत उपलब्ध गराउने तथा प्रभावित क्षेत्रमा उद्धार, उपचार र पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग घोषणा गरेको जनाएको छ।
एसियन लाइफले बाढी तथा विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका आफ्ना कर्मचारी तथा बीमितको सकुशलताको कामना गरेको छ।
कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट सहयोग गर्ने जनाएको छ।


































