म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट मुख्य सडकमार्ग क्षतिग्रस्त भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो सडकखण्ड पनि कालीगण्डकीको बाढी र पहिरोका कारण अवरुद्ध भएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगाएपछि गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सहित मुस्ताङसँगको यातायात सम्पर्कसमेत विच्छेद भएको छ।
यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर ३ को फगाममा अर्को गरी दुई घर पहिरोमा पुरिएका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा समेत कालीगण्डकी नदीले सडक कटान गरेको छ। बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन प्रभावित भएको छ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा समेत बाढी तथा पहिरोका कारण क्षति पुगेको छ।































