काठमाडौं । नयाँ सरकार गठन भएपछि सेयर बजारमा तीव्र गिरावट देखिएको छ । सोसँगै सूचीकृत कम्पनीहरुको सेयर पनि सस्तिएका छन् । मार्केटको गिरावटले धेरै कम्पनीका सेयर आकर्षक स्तरमा झरेका छन् । बजारमा करेक्सन आउँदा गुणस्तरीय कम्पनीको सेयर कम मूल्यमा खरिद गर्ने अवसर सिर्जना भएपछि दीर्घकालीन लगानीकर्ताका लागि अहिलेको अवस्था उपयुक्त हुन सक्ने बजार विश्लेषकहरु बताउँछन् ।
हाल दोस्रो बजारमा २० वटा सूचीकृत कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँभन्दा कम रहेको छ । तीमध्ये अधिकांश बैंक छन् भने केही जलविद्युत् कम्पनी पनि समावेश छन् । नियमित लाभांश वितरण गर्ने बैंकहरु नै २५० रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुनुले दीर्घकालीन लगानीकर्ताका लागि आकर्षक अवसर सिर्जना गरेको जानकारहरुको भनाइ छ ।
विगतका वर्षहरुमा सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंकलगायत बैंकहरुले नियमित रुपमा नगद तथा बोनस लाभांश वितरण गर्दै आएका छन् । यस्ता कम्पनीहरु बजार घटेको बेला कम मूल्यमा खरिद गर्न सकिए भविष्यमा पुँजीगत लाभसँगै लाभांशबाट समेत प्रतिफल प्राप्त गर्न सकिने विश्लेषण गरिन्छ।
हाल २०० रुपैयाँभन्दा कम मूल्यमा ६ वटा कम्पनीका सेयर कारोबार भइरहेका छन् । अपर तामाकोशीको सेयर मूल्य १९४ रुपैयाँ, प्रभु बैंकको १९४ रुपैयाँ ४० पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९५ रुपैयाँ ९० पैसा, हिमालयन बैंकको १९८ रुपैयाँ ३० पैसा, सिटिजन्स बैंक इन्टरनेसनलको १९९ रुपैयाँ तथा शिवश्री हाइड्रोपावरको २०० रुपैयाँ रहेको छ ।
त्यसैगरी, हिमाल दोलखाको सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ ३० पैसा, बलेफी हाइड्रोपावर २१० रुपैयाँ, लिबर्टी इनर्जी कम्पनी २११ रुपैयाँ, कुमारी बैंक २१४ रुपैयाँ ९० पैसा, मोदी इनर्जीको २१८ रुपैयाँ, लक्ष्मी सनराइज बैंक २२१ रुपैयाँ, घलेम्दी हाइड्रोपावरको २२३ रुपैयाँ, हिमालयन ऊर्जाको सेयर भाउ २३३ रुपैयाँ ३० पैसा, प्राइम कमर्सियल बैंक २३६ रुपैयाँ, एनएमबि बैंक २३९ रुपैयाँ २० पैसा, माउन्टेन हाइड्रो नेपाल २४१ रुपैयाँ, ग्लोबल आइएमई बैंक २४३ रुपैयाँ, माछापुच्छ्रे बैंक २४७ रुपैयाँ ७० पैसा तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रति कित्ता सेयर भाउ २४९ रुपैयाँ २० पैसामा कारोबार भइरहेको छ।
विश्लेषकहरुका अनुसार बजारमा गिरावट आउँदा सबै कम्पनीको सेयर सस्तो देखिए पनि लगानी गर्दा कम्पनीको नाफा, वित्तीय अवस्था, लाभांश वितरणको इतिहास, व्यवस्थापन क्षमता तथा भविष्यको सम्भावनालाई ध्यान दिन आवश्यक हुन्छ ।
विशेषगरी बलियो आधारभूत अवस्था भएका कम्पनीको सेयर कम मूल्यमा खरिद गर्न सकिए दीर्घकालीन रुपमा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना रहन्छ।
सेयर बजारमा उतारचढाव स्वाभाविक प्रक्रिया भएकाले छोटो अवधिको गिरावटलाई मात्र हेरेर निर्णय गर्नुभन्दा दीर्घकालीन दृष्टिकोणबाट लगानी गर्नु उपयुक्त हुने विश्लेषकहरुको सुझाव छ।
बजारमा डर र अनिश्चितता बढेका बेला नै गुणस्तरीय कम्पनी उचित मूल्यमा खरिद गर्ने अवसर सिर्जना हुने भएकाले लगानीकर्ताले कम्पनीको वास्तविक अवस्था मूल्यांकन गरेर मात्रै लगानी निर्णय लिनुपर्ने उनीहरु बताउँछन्।
नियमित लाभांश वितरण गर्ने सिटिजन्स, ग्लोबल आइएमई, एनएमबि, माछापुच्छ्रे, प्राइम र लक्ष्मी सनराइज बैंकजस्ता बैंकहरुको सेयर पनि २५० रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध रहेकाले दीर्घकालीन लगानीकर्ताका लागि अहिलेको बजारलाई अवसरका रुपमा लिन सकिने बजार जानकारहरुको भनाई छ ।




































