काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्की उक्त निर्णय बदरको माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन्।
कार्कीनिकट अधिवक्ता टीकाबहादुर कुँवरले आईजीपी नियुक्तिसम्बन्धी सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको जानकारी दिएका छन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। कार्कीले पेस गरेको रिट भने सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको बताइएको छ।
अब सर्वोच्च अदालतले रिट दर्ता गरी सुनुवाइ अघि बढाउँछ वा बढाउँदैन भन्ने विषयमा निर्णय हुन बाँकी छ।


































