काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। आईजीपी पदमा पुनर्बहालीको माग गर्दै कार्कीले बिहीबार सर्वोच्चमा रिट पेस गरेका थिए।
रिट दर्ता भए पनि त्यसको सुनुवाइका लागि पेसी भने तय भइसकेको छैन। कार्कीले आफूलाई सुनुवाइको अवसरसमेत नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको दाबी गरेका छन्।
मन्त्रिपरिषद्ले कात्तिक १८ गते गरेको निर्णयअनुसार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको थियो।
सरकारको उक्त निर्णयपछि डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। अब सर्वोच्च अदालतमा दर्ता भएको कार्कीको रिटमाथि कहिले सुनुवाइ हुन्छ भन्ने टुंगो लाग्न बाँकी छ।


































