काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गर्न खोजेको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेको छैन। सर्वोच्च अदालत प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै बुधबार दर्ता नगरेको हो।
सरकारले आफूलाई आईजीपी पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार सर्वोच्च प्रशासनले रिट अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता नगरेको हो। रिट दर्ताका लागि थप समय लाग्ने जानकारी प्रशासनले दिएको उनले बताए।
मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।
कार्कीको रिट शुक्रबार मात्रै दर्ता भएमा त्यसको प्रारम्भिक सुनुवाइ तिहार बिदापछि हुने देखिएको छ। यससँगै सरकारको आईजीपी नियुक्तिसम्बन्धी निर्णयविरुद्ध कार्कीले अघि बढाएको कानुनी प्रक्रिया तत्काल सुनुवाइमा प्रवेश गर्ने सम्भावना कम भएको छ।


































