काठमाडौं । वर्षायामको अवधिमा सडक खन्ने काममा रोक लगाइएको छ। सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई विनाअनुमति सडक खन्न नदिने निर्णय गरेको हो।
वर्षामा धारा, ढल, विद्युत् तथा टेलिफोनजस्ता पूर्वाधार विस्तारका लागि सडक खन्दा तत्काल मर्मत सम्भव नहुने र यसले सडकको अवस्था झन् बिग्रने भएकाले यस्तो प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।
विभागका अनुसार भदौ मसान्तसम्म कुनै पनि सडक डिभिजन कार्यालयले सडक खन्ने अनुमति प्रदान गर्ने छैन।
यदि कसैले नियम उल्लंघन गरी सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यद्यपि, विभागले आफ्नै आयोजना अन्तर्गत असार महिनामा निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिने तयारी गरेको छ, जुन प्रायः ‘असारे विकास’ भनेर आलोचना हुने गरेको छ।


































