National life
cg eloctronics

नेपाल टेलिकमको नाफामा उछाल, तीन महिनामै कमायो १ अर्ब ८२ करोड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२८ कात्तिक २०८३, शनिबार
2.5kShares
नेपाल टेलिकमको नाफामा उछाल, तीन महिनामै कमायो १ अर्ब ८२ करोड
muktinatha bikash bank

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत (Unaudited) वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा खुद नाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको हो।

कम्पनीको कुल सञ्चालन आय भने लगभग स्थिर देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आय गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो। कम्पनीका अनुसार सञ्चालन आयमा १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशतको वृद्धि भएको छ।

everest bank

त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल आय ६६ लाख ४६ हजार रुपैयाँ अर्थात् ०.०७ प्रतिशतले बढेको छ।

खुद नाफा बढ्दा सञ्चालन मुनाफामा भने दबाब

कम्पनीको खुद नाफा उल्लेख्य बढे पनि सञ्चालन कार्यसम्पादनको अर्को महत्वपूर्ण सूचक EBITDA भने घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको EBITDA ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो। यसअनुसार EBITDA २९ करोड १४ लाख रुपैयाँ अर्थात् ६.१३ प्रतिशतले घटेको हो।

यद्यपि, करअघिको मुनाफामा भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ करअघिको नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो। यसअनुसार करअघिको नाफा ३.६५ प्रतिशतले बढेको हो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) ४० रुपैयाँ ४५ पैसा रहेको छ।

बाढी र निःशुल्क सेवाले राजस्वमा असर

नेपाल टेलिकमका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व तथा नाफामा देखिएको परिवर्तनको प्रमुख कारण प्राकृतिक विपद् र सेवा बिक्रीमा आएको प्रभाव हो।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित सेवाग्राहीलाई कम्पनीले १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो। प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुनुका साथै व्यावसायिक गतिविधिमा समेत व्यवधान उत्पन्न हुँदा सेवा बिक्रीबाट प्राप्त हुने आम्दानी प्रभावित भएको कम्पनीले जनाएको छ।

त्यस्तै, असोज २५ गते आएको बूढीगण्डकी बाढीले समेत दूरसञ्चार सेवामा नकारात्मक प्रभाव पारेको कम्पनीको भनाइ छ। निःशुल्क सेवा उपलब्ध गराउनुपरेको र प्राकृतिक विपद्का कारण सेवा सञ्चालनमा अवरोध उत्पन्न भएकाले राजस्वमा प्रतिकूल असर परेको हो।

GSM र FTTH सेवाको आम्दानीमा वृद्धि

प्राकृतिक विपद् र अन्य चुनौतीका बाबजुद नेपाल टेलिकमको GSM तथा FTTH सेवाबाट प्राप्त सञ्चालन राजस्वमा वृद्धि भएको छ।

कम्पनीका अनुसार GSM सेवातर्फ १० लाख १६ हजार रुपैयाँ र FTTH सेवातर्फ ४ करोड ४० लाख रुपैयाँले सञ्चालन राजस्व बढेको छ। कम मूल्यका तथा ठूला क्षमताका मोबाइल डेटा प्याकेजको प्रयोग बढ्नुले दूरसञ्चार सेवाको आम्दानीमा प्रभाव पारेको कम्पनीले जनाएको छ।

यसैबीच, चालु आर्थिक वर्षमा कर्मचारीको तलब स्केल वृद्धि हुँदा कर्मचारी खर्च बढेको छ। तर, ह्रास खर्चमा आएको कमी र मूल्यह्रास क्षति फिर्ता समायोजन (Impairment Reversal) का कारण कुल खर्चमा ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले कमी आएको कम्पनीले उल्लेख गरेको छ।

दुर्गम क्षेत्रमा पनि सेवा विस्तारलाई प्राथमिकता

नेपाल टेलिकमले बढी लागत र तुलनात्मक रूपमा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

समग्र वित्तीय विवरण हेर्दा कम्पनीको सञ्चालन आयमा खासै वृद्धि नभए पनि खुद नाफामा भने उल्लेख्य सुधार देखिएको छ। तर EBITDA घट्नुले सञ्चालनस्तरको आम्दानी तथा लागत व्यवस्थापनमा चुनौती कायमै रहेको संकेत गर्छ। आगामी दिनमा डेटा सेवाको विस्तार, FTTH ग्राहक वृद्धि, नेटवर्क गुणस्तर सुधार र सञ्चालन खर्च व्यवस्थापनले कम्पनीको वित्तीय अवस्थालाई थप प्रभाव पार्ने देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?