काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजकी अध्यक्ष सुनिता कार्कीले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण गर्दा सरकारले सम्बन्धित विज्ञ तथा सरोकारवालासँग समन्वय गरेर अघि बढ्नुपर्ने बताएकी छन् ।
बाढीपहिरोबाट सडक पूर्वाधारमा पुगेको क्षति र अबको पुनर्निर्माणबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले सडक तथा पुल जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले क्षति पुग्दा आवागमनसँगै सम्बन्धित क्षेत्रको सम्पर्कसमेत विच्छेद हुने अवस्था आउने बताइन् ।
उनले पुनर्निर्माणका काम केन्द्रमा बसेर मात्र निर्णय गर्नेभन्दा सम्बन्धित क्षेत्रका इन्जिनियर, जियोटेक्निकल विज्ञ, नेपाल इन्जिनियर्स एसोसिएसनलगायत सरोकारवालासँग छलफल गरेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।
‘सरकारले सडकको पुनर्निर्माण गर्दा केन्द्रमा बसेर मात्र गर्नु हुँदैन ।
सडक तथा पुलमा क्षति पुग्दा स्थानीय बासिन्दाको आवतजावत मात्र प्रभावित नहुने उनले बताइन् । कार्कीले पूर्वाधार निर्माणको डिजाइन चरणदेखि नै जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिमलाई ध्यान दिनुपर्ने बताइन् ।
‘पहिलेदेखि नै कसरी रेजिलेन्ट पूर्वाधार बनाउने भन्ने विषयमा काम गर्नुपर्छ,’ उनले भनिन् ।
नेपाल पूर्वाधार पत्रकार समाजले पछिल्लो समय आएको ठूलो बाढीपहिरोपछि पहिलोपटक ‘बाढी पहिरोले सडक पूर्वाधारमा गरेको क्षति र अबको पुनर्निर्माण’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कार्कीले जानकारी दिइन् ।
कार्यक्रममा सडक विभागका महानिर्देशक विजय जैसीले बाढीपहिरोबाट सडक तथा पुलमा भएको क्षतिको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले क्षतिग्रस्त सडक पूर्वाधारको पुनर्निर्माणका लागि करिब ५३ अर्ब रुपैयाँ आवश्यक पर्ने जानकारी दिएको कार्कीले बताइन् ।
कार्यक्रममा रसुवालगायतका क्षेत्रमा बाढीबाट भएको क्षति, पुनर्निर्माणका लागि अघि बढाइएका काम तथा कृष्णभीरको सडकखण्ड भासिएपछि निर्माण गर्न लागिएको वैकल्पिक मार्गबारे समेत जानकारी दिइएको थियो ।
कार्कीले आगामी दिनमा नेपाल इन्जिनियर्स एसोसिएसनलगायत सम्बन्धित निकायसँग समन्वय गरी पूर्वाधार तथा विपद्सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने बताइन् । विपद्का समयमा सही र विश्वसनीय सूचना जनतासम्म पुर्याउन पूर्वाधार पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।































