काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न बैंकमा कार्यरत २४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल बैंकर्स संघले जनाएको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नौ वटा बैंकका २४ कर्मचारीसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूको खोजी तथा अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।
बाढीका कारण बैंकका नौ वटा शाखा कार्यालयमा समेत ठूलो क्षति पुगेको छ।
बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकलगायतका बैंकका शाखा कार्यालय प्रभावित भएका छन्।
बाढीले बैंकिङ सेवाका भौतिक संरचनामा क्षति पुर्याएसँगै प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएको छ। क्षतिको पूर्ण विवरण प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।


































