काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बीमाशुल्क आर्जन र खुद नाफा दुवैमा वृद्धि गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १२ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क ११ अर्ब १८ करोड रुपैयाँ थियो।
बीमाशुल्क आर्जनमा भएको वृद्धिसँगै कम्पनीको खुद नाफा पनि बढेको छ।
यद्यपि, कम्पनीको खुद दाबी भुक्तानी र कुल खर्च भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ९६ करोड रुपैयाँ रहेको खुद दाबी भुक्तानी बढेर समीक्षा अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खर्च १४ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड रुपैयाँ रहेको छ। यस अवधिमा रिटेन्ड अर्निङ भने घटेको छ। अघिल्लो वर्ष ९२ करोड ३६ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको महाविपत्ती कोषमा ४५ करोड ८० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २१६.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.४४ गुणा रहेको छ।


































