काठमाडौँ । यो समयमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । उता डलरको भाउ उच्च रहँदा यता नेपाली रुपैयाँ भने इतिहासकै कमजोर देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार नोभेम्बर महिनाको ११, १२ तथा २१ तारिखको रेकर्ड तोडेर बुधवार नयाँ उचाइ चुमेको हो । बुधवार डलरको भाउले १३३.६८ रुपैयाँको सर्वाधिक उचाइ चुमेको हो ।
यसरी दिनप्रतिदिन अमेरिकी डलरको भाउ बढ्नु नेपाली रुपैयाँ इतिहासकै कमजोर हुनुलाई कसरी हेर्ने अथवा अमेरिकी डलर र नेपाली मुद्रा बिचको सम्बन्ध के छ ? भनेर हामीले पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीसँग कुराकानी गरेका छौ ।
माथीका प्रश्नमा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री यसो भन्छन्
खुल्ला विनिमय प्रणालीमा रहेका कुनै पनि दुई मुद्राको लामो समयको विनिमय दर धेरै हदसम्म ती देशको मुद्राको ब्याज दरको अन्तरले निर्धारण गर्ने क्षेत्रीको भनाई छ । उनी आफ्नो भनाइमा थप्छन् ''अन्तर्राष्ट्रिय समुदाय ठुला अर्थतन्त्र भएका देशको मुद्राको ब्याजदरमा धेरै आँखा गाड्दैनन् तर विनिमय दरमा भने उनीहरूको गिद्धे दृष्टि नै हुन्छ ।
निरन्तर रूपमा बढेको डलरको मुख्य कारण हामीले देखिरहेको रुस र युक्रेनको युद्ध मात्रै पर्याप्त छैनन्, विश्वभर हुने साना तथा ठुला युद्धले समेत यसलाई प्रत्यक्ष प्रभाव पार्दछ ! अमेरिकी र अन्य मुख्य मुद्रासँग नेपाली रुपैयाँको अवमूल्यन बढ्दै जाँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै ठुलो सकस हुन्छ ।
सरकारले अन्तर्राष्ट्रिय निकाय तथा नियोगहरूबाट लिने ऋण डलरमै स्वीकार गर्ने भएकोले यसको भाउ बढ्दा ऋण तथा त्यसको नियमित ब्याज तिर्न सकस पर्छ । डलर महँगिँदा त्यस्तो लागत बढ्न जान्छ । विभिन्न देशबाट सामान आयात गर्दा डलर नै चाहिने भएकोले त्यस्तो आयात महँगो पर्न जान्छ । जसका कारण नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्र सकसमा पर्न सक्छ ।
दिनप्रतिदिन आयात बढ्ने र निर्यात घट्ने गरेको अवस्थामा नेपाली मुद्राको कमजोर स्थितिमा सुधार आउँछ भन्नु मुतको तातो मात्रै हो , सुन्दा मिठै लागे पनि वास्तविक त्यस्तो हुँदैन ।
हुन त नेपाली रुपैयाँको अमेरिकी डलरसँग सोझो सम्बन्ध भने छैन । भारतीय रुपैयाँसँगको विनिमय दरका आधारमा अमेरिकी डलरको विनिमय दर निर्धारण हुने गर्छ । यसको अर्थ भारतीय रुपैयाँ जति कमजोर भयो त्यसले नेपाली रुपैयाँलाई थप कमजोर बनाउँछ भने भारु बलियो बन्दा नेपाली रुपैयाँ पनि बलियो बन्न पुग्छ ।
हाम्रो उत्पादनलाई सामान्य मूल्यमा खरिद गरेर हामीलाई नै छिमेकी देशहरूले बिक्री गरेको अवस्था छ , हामीसँग पर्याप्त स्रोत साधनको कमी भएको कारण हामी हेर र चुप बस को अवस्थामा छौ ।
सरकाले देशभित्रै प्रविधिको विकास गर्न सकेको खण्डमा हाम्रो देशको अर्थतन्त्रले गति लिने थियो , प्रविधिकै अभावको कारण हामीले लामो समयसम्म हाम्रो कच्चा पदार्थ स्टोर गरेर राख्ने स्थिति छैन त्यही अवस्थाले कौडीको भाउमा हाम्रो बहुमूल्य उत्पादन अन्य देशलाई दिन बाध्य छौ त्यहीँ कच्चापदार्थलाई उनीहरू प्रशोधन गरेर चर्को मूल्यमा बिक्री गरेका छन् र यस कारण हाम्रो निराशा जनक अर्थतन्त्रलाई उकास्नका निमित्त पहिलो आधार उत्पादन हो उत्पादनलाई जोड दिनुको अर्को विकल्प हामीसँगै छैन ।

































